धनगढी : नक्कली टिकट बिक्री गरेको आरोपमा कैलालीको एक जनप्रतिनिधिका स्वकीय सचिव र अर्का एक जनाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । अत्तरियामा भएको ‘सुदूरपश्चिम प्रादेशिक महोत्सव, २०८०’ को नक्कली टिकट बिक्रीवितरण गरेको आरोपमा गोदावरी नगरपालिकाका मेयर वीरेन्द्र भट्टका स्वकीय सचिव दिलिपकुमार साउद र दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका स्ववियु सभापति भुवन महराविरुद्ध पकाउ पूर्जी जारी भएको छ ।
गत पुस २६ देखि माघ ७ गतेसम्म सञ्चालित महोत्सवमा नक्कली टिकट बरामद भएपछि अत्तरिया उद्योग वाणिज्य संघले जिल्ला प्रशासन कार्यालय, कैलालीमा उजुरी दिएको थियो । प्रशासनले जिल्ला प्रहरी कार्यालय, कैलालीलाई छानबिनको जिम्मा दिएको हो । प्रहरीले अनुसन्धानका क्रममा उनीहरुको संलग्नता पाएपछि जाहेरी दिइएको संघका उपाध्यक्ष दलबहादुर खड्काले बताए ।
उनका अनुसार हिजो उनीहरुविरुद्ध प्रहरीमा जाहेरी दिइएको छ । उनले भने, ‘महोत्सवबाट नक्कली टिकट बरामद भएपछि हामीले जिल्ला प्रशासन कार्यालयमा उजुरी हालेका थियौं । प्रशासनले प्रहरीलाई छानबिनका लागि पत्राचार गरेको रहेछ । प्रहरीले अनुसन्धानका क्रममा उनीहरुको संलग्नता देखिएपछि जाहेरी दिन भनेको थियो । हामीले हिजो नै जाहेरी दिएका हौं ।’
यता, कैलालीका प्रहरी नायव उपरीक्षक (डिएसपी) कुलदीप चन्दले उनीहरुविरुद्ध पक्राउ पूर्जी जारी भएको बताए । हिजो नै अदालतबाट पक्राउ पूर्जी लिएर अनुसन्धानको कार्य अघि बढाइसकेको उनले जानकारी दिए ।