धनगढी : सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको प्रवक्तामा हेमराज खड्का तोकिएका छन्। विगतमा विभिन्न विवादमा मुछिएका खड्कालाई मन्त्रालयका निमित्त सचिव गणेश बहादुर सिंहले प्रवक्ताको जिम्मेवारी दिइएको जानकारी दिए।
उनका अनुसार माघ १७ गतेदेखि खड्काले मन्त्रालयको प्रवक्ताको जिम्मेवारी सम्हालेका हुन्। अहिलेका नेकपा माओवादीका सामाजिक विकासमन्त्री झपट साउँदलाई रिझाएर खड्काले जिम्मेवारी हत्याएको बताइएको छ।
मन्त्रालय स्रोतका अनुसार नवौँ तथा दशौँ तहका कर्मचारीलाई प्रवक्ताको जिम्मेवारी दिनुपर्ने प्रावधान भएपनि मन्त्रीले भनेपछि आठौँ तहका खड्काले सो जिम्मेवारी पाएका हुन्।
यस्तै उनलाई थप नीति योजना तथा जनस्वास्थ्य महाशाखाको जिम्मेवारी समेत दिने तयारी छ।
खड्का यसअघि मन्त्रालय मातहतको स्वास्थ्य प्रवर्द्धन केन्द्र कञ्चनपुरको प्रमुखसमेत रहेर काम गर्दै आएका थिए।
मन्त्रालय र केन्द्रको दोहोरो काममा रहेका बेला उनी निकै विवादमा आएका थिए।
पछि मुख्यमन्त्री कार्यालयले प्रवर्द्धन केन्द्रको ओएनएम नै अस्वीकृत गरेको थियो। तर खड्का फेरि प्रवक्ताका रुपमा प्रकट भएका हुन्।
पहिले उनले दोहोरो जिम्मेवारी लिएर आफ्नै कर्मचारीको घर भाडामा लिई कार्यालय चलाएकोमा महेन्द्रनगरपोष्टले समाचार प्रकाशनसमेत गरेको थियो।
सो समयमा उनलाई मन्त्रालयका तत्कालीन सचिव ज्ञान प्रसाद ढकालले स्पष्टीकरण पनि सोधेका थिए।
गाडी दुरुपयोगदेखि अन्य बेथितिमा खड्काको नाम चर्चित हुँदै आएको देखिन्छ।