धनगढी : सुदूरपश्चिम प्रादेशिक महोत्सव अत्तरियामा विक्री गरिएको नक्कली टीकट ठेलीको घटनालाई मिलापत्र गर्न खोजिएको भिडिओ संवाद बाहिर आएको छ।
अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष कल्याणसिंह बोहराले महासचिव शंकर बोहरालाई रातिको समयमा फोन गरेर मिलापत्र गर्नुपर्ने भन्दै गरिएको संवाद बाहिरिएको हो।
जिल्ला प्रहरी कार्यालय, धनगढीमा बुधवार महासचिव बोहरासहितका चार जनाका विरुद्ध जाहेरी दर्ताका लागि पुगेका बोहराले राति उनै महासचिवलाई फोन गरेर मिलापत्र गर्नुपर्ने बताए।
फोनमार्फत अध्यक्ष कल्याण बोहराले भनेका छन्, ‘तिमि पनि केही नगर, मिलाउनुपर्छ, यसलाई, अन्यथा नलिनु, सेफ ल्यान्डीङ्का लागि गरेको हो।’ अध्यक्ष बोहराले पार्टीको केन्द्रबाट फोन आएको बताएका छन्।
उनले अत्तरिया उद्योग वाणिज्य संघलाई बचाउन मिलापत्र गर्नुपर्ने समेत बताएका छन्। शंकर बोहराले नक्कली टिकटको ठेली बरामद गरेका थिए।