धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले बदमासलाई कारबाही नगरे कुर्सी छाड्ने बताएका छन् ।
बिहीबार एक टेलिभिजन कार्यक्रममा बोल्दै मुख्यमन्त्रीमा शाह कृषि भित्रको अनुदानको बेतिथिलाई रोक्ने र कारबाही गर्न नसके कुर्सी छाड्ने बताएका हुन ।
‘अनुदानमा कतै बदमासी भएको छ भने सूचना दिनुहोला त्यो निकायलाई मैले कारबाही गर्नै सकिन भने यो कुर्चीमा बस्दिन उनले भने, ‘त्यो हिम्मत र साहसका साथ म आएको छु ।’ उनले सुदूरपश्चिममा विकासका थुप्रै कामहरू भइरहेको दाबी गरे ।
‘पश्चिम सेती पञ्चेश्वर एसआर सिक्स अगाडी बढ्दै छ । पश्चिम सेतीमा टनेल निर्माण गर्न शिलान्यास गरेको छु । पञ्चेश्वरको काम पनि अगाडी बढेको छ । बेहेतन कर्णाली संघीय सरकारले आफै निर्माण गर्न लागेको छ । हामीले कि आफै बनाउनु होस् कि हामी बनाउँछौँ भनेका छौँ ’ उनले भने ।
प्रदेश राजधानी गोदावरीमा २ तिहाइ बहुमतले पारित गरेको भन्दै यस विषयमा संघीय सरकारसँग छलफल भइरहेको मुख्यमन्त्री शाहले बताए ।