डडेल्धुरा : अमरगढी नगरपालिकाकि उपप्रमुख पार्वती झुकालले काठमाडौं बस्ने बुहारीलाई भान्से नियुक्ति गरेको पाइएको छ।
उपप्रमुख झुकालले काठमाडौं बस्दै आएकी बुहारी कल्पना बुढाऐर झुकाललाई भान्से नियुक्ति गरेको खुलेको हो।
तर, यता उपप्रमुख झुकालले भने उक्त कुरा अस्विकार गरिन्। उनले आफूलाई भान्से आवश्यकता नभएको बताइन्।
‘मलाई भान्से के चाहियो ? पत्रकारहरू गलत गलत लेख्छन्। को पत्रकार सहि लेख्छ र ? कोही एक दुई होलान्,’ उनले भनिन्।
उपमेयर झुकालले भान्से राखेको कार्यालय स्रोतले जनाएको छ। स्रोत भन्यो, ‘उहाँले परिवारकै मान्छे राख्नुभएको छ। तर, उहाँ कहाँ हुनुहुन्छ भन्ने जानकारी हामीलाई थाहा छैन।’
स्रोतका अनुसार उनको नाममा मासिक २६ हजार रुपैँयाका दरले नगरपालिकाले तलब खर्च गर्ने गरेको छ।
उपमेयरको भान्सेको तलब बारे नगरपालिका लेखा अधिकृत पदमराज भट्टले खुलाउन चाहेनन्। उनले आफू बिरामी भएर कार्यालय नगएको भन्दै फोन काटे।