धनगढीः कैलालीको गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्टले स्वकीय सचिव दिलिपकुमार साउदलाई पदबाट निलम्बन गरेका छन्।
अत्तरिया उद्योग वाणिज्य संघले लगाएको महोत्सवमा भएको नक्कली टिकट हिनामिनाको छानबिनको समयसम्मका लागि भन्दै उनलाई पदबाट निलम्बन गरेका हुन्।
अत्तरिया उद्योग वाणिज्य संघका सचिव समेत रहेका साउद महोत्सवको नक्कली टिकट प्रकरणमा मुछिएका छन्।
उनी नक्कली टिकट प्रकरणमा मुछिएपछि स्वकीय पदमा रहिँ रहँदा पार्टी तथा पालिकाको दबाबका कारण छानबिनमा समस्या नहोस् भनेर सहयोगका लागि उनलाई निलम्बन गरिएको नगरपालिका स्रोतले जनाएको छ।
अत्तरिया उद्योग वाणिज्य संघको प्रादेशिक महोत्सवमा नक्कली टिकट बिक्रि गरेको अभियोगमा साउँद र दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका स्ववीयु सभापति भुवन महराका नाममा जिल्ला अदालत कैलालीले पक्राउ पुर्जी जारी गरेको छ।
अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्षसहितका १२ जना पदाधिकारीले उनीहरुका नाममा मंगलबार किटानी जाहेरी दिएपछि कारवाही प्रक्रिया अघि बढाउन अदालतले पक्राउ पुर्जी जारी गरेको हो। तर, उनीहरू पक्राउ परेका छैनन्।
अत्तरियामा पुस २६ गतेदेखि माघ ७ गते सम्म सञ्चालन भएको सुदूरपश्चिम महोत्सवको आठौं दिन २८ वटा नक्कली टिकट ठेली बरामद गरिएका थिए।