काठमाडौँ : घुस रकमसहित रङ्गेहात पक्राउ परेका पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपाल दोषी ठहर भएका छन् । विशेष अदालतले नेपाललाई शुक्रवार भ्रष्टाचारको मुद्दामा दोषी ठहर गरेको हो ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले नेपाललाई दोषी ठहर गर्दै १ वर्ष कैद सजाय र ६ लाख जरिवाना हुने फैसला सुनाएको छ ।
विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार शुक्रवारको सुनुवाइपछि प्रतिवादी उपसचिव प्रमोद नेपाललाई दोषी ठहर गर्ने फैसला भएको छ । प्रमोद नेपालसँगै प्रतिवादी बनाइएका बीबी एयरवेजका तत्कालीन कार्यकारी अधिकृत हरिभक्त श्रेष्ठलाई भने अदालतले सफाइ दिएको छ ।
बीबी एयरवेजको इजाजत पत्र नवीकरणका लागि नेपालले १६ लाख रुपैयाँ घुस लिएको अख्तियारको आरोप थियो । यद्यपि बीबी एयरवेजका कार्यकारी अधिकृत श्रेष्ठले भने नेपाललाइ घुस दिएको नभई सापटी दिएको बयान दिएका थिए ।
भएको के थियो ?
२०७९ साउन १७ गते अपराह्न नागपोखरीस्थित होटल अरण्यको परिसरबाट साढे २२ लाख रुपैयाँ घुस रकमसहित पक्राउ परे । पर्यटन मन्त्रालयमा कार्यरत उपसचिव प्रमोद नेपाल त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र विषयमा स्नातकोत्तरका गोल्ड मेडलिष्ट थिए ।
पेशाले सिनियर एयर ट्राफिक कन्ट्रोल अफिसर (सिनियर एटीसी अफिसर) रहेका उनको जिम्मेवारी संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नागरिक उड्डयन महाशाखामा थियो । त्यही शाखाबाट प्याराग्लाइडिङ उडानका लागि अनुमति प्रदान गरिन्थ्यो भने टिप्पणी उठाउने शाखामा उनै प्रमोद उपसचिव थिए ।
उनै उपसचिव नेपाल २०७९ साउन १७ गते एकाएक नागपोखरीस्थित होटल अरण्यबाट ६ लाख घुस रकमसहित पक्राउ परेका थिए । प्याराग्लाइडिङ उडान अनुमतिका लागि स्वीकृति दिने क्रममा उनले सेवाग्राहीसँग ६ लाख रुपैयाँ घुस मागेको सूचना अख्तियारलाई प्राप्त भएको थियो । सोही सूचनाको आधारमा रेकी गरी पिछा गरेको अख्तियारको टोलीले सेवाग्राहीसँग ६ लाख घुस रकम लिएर गाडीको ड्यासबोर्डमा राख्ने बित्तिकै उनलाई पक्राउ गरिएको थियो ।