धनगढी : डोटीको दिपायल सिलगढी नगरपालिकाका मेयरले चलाएको सरकारी गाडीले ठक्कर दिएर एकजना घाइते भएका छन्।
आज (शनिबार) बिदाको दिन मेयर बाजिसिंह खड्का (विजय) ले धनगढीबाट नगरपालिकाको स्कारपियो गुडाएकोमा चुरे क्षेत्रमा दुर्घटना भएको हो। आज साढे ४ बजेतिर चुरे गाउँपालिकास्थित वडानम्बर ५ निँगलाडी नजिकै दुर्घटना सरकारी नम्बर प्लेटको से १ झ ३१७ नम्बरको स्कारपियोले पैदलयात्रीलाई ठक्कर दिएको थियो।
प्रहरी स्रोतका अनुसार धनगढीबाट दिपायलतर्फ जाने क्रममा मेयर खड्का आफैंले चलाएको गाडीले खानीडाडा नजिकै पैदलयात्रीलाई ठक्कर दिएको हो। अहिले ठक्करबाट घाइते भएका स्थानीय चुरे गाउँपालिका-५ का ५५ वर्षीय पदम सुनारको अत्तरियाको पदमा अस्पतालमा उपचार भैरहेको छ। घाइते सुनारको टाउकोमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
ड्राइभर दिपायलमै छोडेर जन्तीमा धनगढी आएका मेयर खड्का शनिबारको दिन आफैं ड्राइभर बनेर फर्किन लागेका थिए। सोही क्रममा दुर्घटना भएपछि खड्का अहिले अत्तरियाको अस्पतालमा छन्।
उनले आफैंले गाडी चलाएको प्रहरीले पुष्टि गरेपनी मेयरले महेन्द्रनगरपोष्टसँग भने ड्राइभरले नै गाडी चलाएको भन्दै झुट बोलेका छन्।
यस्तै मेयर खड्कालाई प्रहरीले नियन्त्रणमा पनि नलिई अस्पतालमै राखेको बताइएको छ।