कैलाली : कैलालीमा लागुऔषधसहित तीन जना युवक पक्राउ परेका छन्।
धनगढी उपमहानगरपालिका-२ त्रिनगर ब्यारेल नजिकबाट ४०० मिलिग्राम ब्राउन सुगरसहित सोही ठाँउ बस्ने २८ वर्षीय बिपिन मल्ल र धनगढी-३ का ३२ वर्षीय रुपेश बिक आइतबार दिउँसो पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनीहरुले प्रयोग गरेको मोटरसाइकलको डिग्गीमा लुकाई राखेको अवस्थामा उक्त लागूऔषध फेलापारी मोटरसाइकल १ थानसहित दुवै जनालाई पक्राउ गरेको हो।
यस्तै, जानकी गाउँपालिका-१ मिलनचोकबाट १३० मिलिग्राम ब्राउन सुगरसहित सोही ठाँउ बस्ने २४ वर्षीय पदम खत्री पनि आइतबार दिउँसो पक्राउ परेका छन्। ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरी टोलीले उनको साथबाट उक्त पदार्थ फेला पारी खत्रीलाई पक्राउ गरेको हो।
दुवै मुद्दामा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
Facebook Comments Box