काठमाडौं : एसीसी महिला प्रिमियर लिग क्रिकेटमा नेपालले मङ्गलवार माल्दिभ्सलाई २ सय १४ रनले हराएको छ।
२ सय २८ रनको लक्ष्य पाएको माल्दिभ्स १३ रनमा अलआउट भयो। नेपालकी अस्मिना कर्माचार्यले ४ तथा पुजा महतो र रुबिना क्षेत्रीले ३/३ विकेट लिए।
अस्मिनाले ४ ओभरमा ७ रन, रुबिनाले ३.५ ओभरमा २ रन र पुजाले ३ ओभरमा २ रन खर्चिएका थिए।
माल्दिभ्सका ६ जनाले खाता खोल्न सकेनन्। मालदिभ्सले १३.५ ओभर मात्र टिक्न सक्यो।
त्यसअघि मलेसियाको बाँगीमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २२७ रन बनाएको थियो।
नेपालकी पूर्वकप्तान रुविना क्षेत्री बेलबासेले ५९ बलमा १० चौका र ५ छक्कासहित ११८ रनको अविजित शतकीय इनिङ खेलेकी थिइन्। पूजा महतो ३६ बलमा ५ चौका र १ छक्कासहित ५९ रनमा नट आउट रहिन्।
प्रतियोगितामा नेपालले लगातार तेस्रो खेल जितेको हो। समूह डीमा नेपाल ३ खेलबाट ६ अंक जोडेर विजेता बन्यो।
लगातार ३ जितसँगै नेपाल शीर्ष स्थानमा रहँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ।