धनगढी : कैलालीमा फागुन १३ गते देखि दादुरा–रुबेला विरुद्धको खोप अभियान संचालन हुने भएको छ । ९ महिना देखि १५ वर्ष मुनिका बालबालिकाहरुलाई दादुरा–रुबेला रोग विरुद्धको खोप लगाईन लागेको हो ।
स्वास्थ्य कार्यालय कैलालीले बालबालिकाहरुलाई नजिकैको खोप केन्द्रमा दादुरा–रुबेला विरुद्धको खोप लगाउन आग्रह गरेको छ । खोप अभियानमा ५ वर्ष मुनिका बालबालिकाहरुलाई छुटेको नियमित खोप पनि लगाइने छ । कैलालीका १३ वटा पालिकामा २ लाख ५८ हजार १ सय ६५ बालबालिकाहरुलाई दादुरा–रुबेला विरुद्धको खोप लगाउने लक्ष्य राखिएको छ ।
नियमित खोप छुटभएका बालबालिकाहरुको खोप कार्ड लिई आउन स्वास्थ्य कार्यालयको आग्रह गरेको छ । कैलालीमा दादुरा–रुबेला रोग विरुद्धको खोप अभियानमा ९६४ खोप केन्द्र र दुई सय ९२ स्वास्थ्यकर्मीहरु परिचालन गरिने स्वास्थ्य कार्यालय कैलालीका प्रमुख आशुतोस श्रेष्ठले जानकारी दिए ।
खोप अभियानमा एक हजार ९ सय २८ स्वयंमसेवक परिचालन गरिने र जिल्लालाई पुर्ण खोपयुक्त जिल्ला घोषणा गर्ने गरी तयारी गरिरहेको स्वास्थ्य प्रमुख श्रेष्ठले बताए ।
यस्तै कैलालीका खोप अभियान सफल पार्नको लागि युनिसेफ नेपाल र बास नेपालले महिला स्वास्थ्य स्वयमसेविका र स्वयमसेवकहरु समुदायस्तरमा परिचालन गरेको छ ।
उनिहरुले समुदायमा खोप अभियान बारेमा जानकारी दिने, निमन्त्रणा कार्ड वितरण गर्ने, शुन्य मात्रा खोप र छुट मात्रा खोप भएका बालबालिकाहरुको पहिचान गरिरहेका छन् ।