काठमाडौं: नेपाल प्रहरीमा बेलाबखत भैरहने दरबन्दी थप र आफ्नालाई च्याप्ने प्रवृत्ति पुरानै हो। विभागिय सरुवा बढुवादेखि दरबन्दी थप्नेसम्ममा आफ्नालाई सहज बनाउने प्रहरीमा अहिले पनि परिपाटी कायमै छ।
सोही क्रममा हालै व्यक्ति विशेषका लागि २ दरबन्दी थप गरेको पाइएको छ। डीआईजीको दुई विशेष दरबन्दी थप गरिएको हो।
साइबर ब्यूरो र केनाईन महाशाखामा डीआईजीको विशेष दरबन्दी थप गरेर बढुवा गरिएको बताइएको छ। दरबन्दी थपसँगै साइबर ब्यूरोमा नवीन्द्र अर्याल तथा केनाइनमा देउती गुरुङलाई बढुवा गरिएको छ।
साइबर अपराध बढेको अवस्थामा साइबर ब्यूरोमा विशेषज्ञ पद आवश्यक भए पनि केनाइन महाशाखामा आवश्यक नै नभएको प्रहरी अधिकारी बताउँछन्। गुरुङलाई जागिर लम्बाउन मात्र यसरी अनावश्यक दरबन्दी थपिएको चर्चा छ।
यसअघि केनाईनमा एसपीसम्मको दरबन्दी थियो। त्यसपछि त्यहीँ देउतीकै लागि एसएसपीको स्थायी दरबन्दी थप गरिएको थियो। अहिले कुकुर हेर्ने सो शाखामा डीआईजीको दरबन्दी राखिएको हो।
तर, प्रहरीको डिजिटल फरेन्सिक ल्याब, विधि विज्ञान प्रयोगशाला जस्ता निकायमा भने विशेषज्ञ कर्मचारीको अभाव भइरहेको बुझिएको छ।