धनगढी : सुदूरपश्चिम प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री प्रकाश बहादुर देउवाले १० महिनाको अवधीमा १६ पटक संघीय राजधानी काठमाडौंको भ्रमण गरेका छन ।
भौतिक पुर्वाधार विकास मन्त्रालयले देउवाले मन्त्री भएपछि २०७९ सालको फागुन २१ गते देखि २०८० सालको पुसको ८ गतेसम्म १५ पटक काठमाडौंको भ्रमण गरेको तथ्यांक दिएपनि मन्त्री देउवा माघको १८ गते पनि काठमाडौं उडेका छन ।
‘माघको महिना पनि मन्त्री ज्यु काठमाण्डौं जानु भएको छ । मन्त्रालयको विवरणमा त्यो छुट्यो होला’ मन्त्रालयका लेखा अधिकृत शिवराज ओझाले भने । उनले माघको १८ देखि २१ गतेसम्म मन्त्री देउवा काठमाडौं गएको स्वीकार गरे ।
मुख्यमन्त्री र आर्थिक मामिला मन्त्रीको काठमाडौं भ्रमणको तुलनामा भौतिक पुर्वाधार मन्त्री देउवाको काठमाडौंको भ्रमण कम देखिएको छ । मुख्यमन्त्री कमल बहादुर शाहले ११ महिनामा २२ पटक र आर्थिक मामिलामन्त्री नरेश कुमार शाहीले ११ महिनामा २३ पटक काठमाण्डौं भ्रमण गरेको तथ्य सार्जजनिक भएको थियो ।
मन्त्री देउवाले पनि महिनामा तीन/तीन पटक पनि काठमाडौं भ्रमण गरेका छन । उनले २०८० सालको जेठको १ गते, ८ गते र १७ गते गरी तीन पटक काठमाण्डौंको भ्रमण गरेका छन । मन्त्री देउवाले २०८० को साउन, भदौ र मंसिरमा महिनाको २/२ पटक पनि काठमाण्डौं भ्रमण गरेका छन ।
साउनको १ गते र १० गते, भदौको २० गते र २७ गते तथा मंसिरको २४ गते र २९ गते गरी महिनामा २/२ पटक काठमाण्डौंको भ्रमण गरेका हुन । मन्त्री देउवाको भ्रमण अवधी भने मुख्यमन्त्री र आर्थिक मामिला मन्त्रीको भन्दा कम छ । उनले १५ पटकको भ्रमणमा ५६ दिन मात्रै काठमाण्डौंमा विताएका छन । एक पटक त उनी एकै दिनमा काठमाण्डौंबाट धनगढी फर्किएका छन । २०८० असोजको २७ गते उनी एकै दिनमा धनगढी फिर्ता भएका हुन ।