धनगढी : सरकारी कार्यालयहरुबाट प्रदान हुने सूचना प्रवाहलाई सहज बनाउने सरोकारवालाहरुले प्रतिबद्धता व्यक्त गरेका छन् । मंगलबार धनगढीमा एकाउन्टीबिलिटी ल्याव नेपालद्धारा आयोजित सूचनामा नागरिकको पहुँच बिषयक अन्तरक्रिया कार्यक्रममा सो प्रतिबद्धता जनाएका हुन ।
कार्यक्रममा धनगढी उपमहानगरपालिका सूचना अधिकारी सुरेन्द्र कार्कीले पालिकाले प्रदान गर्ने सूचनाहरुमा कुनै अवरोध नभएको धारणा राखे । उनले धनगढीले सूचना प्रवाहलाई व्यवस्थित तथा प्रविधिमैत्री बनाउन विभिन्न माध्यमहरुको प्रयोग गर्दै आएको बताए ।
उनले भने–‘धनगढीले अहिले विभिन्न १० ओटा माध्यमबाट सूचना प्रदान गर्छ, हामीले हरेक कार्यपालिकाका निणर्यहरु वेवसाइटमा राख्ने गरेका छौ ।’ उनले थपे ‘हामी सूचना प्रवाहलाई सहज बनाउन प्रतिबद्ध छौ, छिट्टै सूचना प्रदान गर्ने अलग्गै वेवसाइट बनाउने तयारी गरेका छौ ।’
यस्तै जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले कर्मचारी अभावले सूचना प्रवाहमा केही समस्या आउने गरेको भएपनि आफु समयमै सूचना प्रदान गर्न नियमित काम गरिरहेको बताए । उनले जिल्लामा रहेका सबै सरकारी तथा संस्थागत कार्यालयहरुमा पनि सूचना प्रवाहको अवस्था सहज बनाउन प्रशासनले समन्वय गरिरहेको जानकारी गराए ।
हरेक कार्यालयमा सूचना अधिकारी मात्रै नभएर गुनासो सुन्ने अधिकारीको समेत व्यवस्था गर्नुपर्ने भन्दै प्रशासनले निर्देशन दिने जोशीले बताए । यस्तै जिल्ला प्रशासनले वेवसाइट, सूचना पाटी, फेसबुक, लगायतका विभिन्न ९ ओटा माध्यमबाट सूचना प्रवाह गरिहरेको जानकारी दिए । जिल्लामा हरेका तीन/तीन महिनामा सूचना अधिकारीहरुको बैठक बस्ने गरेको र उक्त बैठकमा सूचना प्रवाहलाई कसरी सहज बनाउन सकिन्छ भन्ने बिषयमा छलफल समेत हुने गरेको उनले बताए ।
उनले भने–‘जिल्लामा एउटा सूचना मागको फोरम बनाउनुपर्ने जरुरी छ, त्यसको लागि सबैले पहल गर्नुपर्ने छ, साथै हाम्रो तर्फबाट सूचनाको हक कार्यान्वयनमा हामी पुर्ण प्रतिबद्ध छौ ।’
कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामीला तथा कानुन मन्त्रालयका अधिकृत राजेन्द्र कुमार चन्दले कार्यालयमा सूचना अधिकारी नभएकोले छिट्टै तोकीने प्रतिबद्धता व्यक्त गरे । उनले प्रदेशको सूचना तथा सञ्चार क्षेत्र कानुन मन्त्रालयले हेर्ने भएकोले सूचना प्रवाहलाई सहज बनाउने कुरामा नीतिगत तहमै व्यवस्था गरेर लैजाने बताए । उनले भने–‘सुदूरपश्चिम प्रदेशका हरेक सूचनाहरु प्रवाह गर्न एक सञ्चार कक्षको स्थापना गरेका छौ छिट्टै सञ्चालनमा ल्याउछौ ।’
यस्तै कार्यक्रममा सहभागीहरुले सोही मन्त्रालयको वेवसाइड अपडेट नभएको र मन्त्रीको फोटो समेत पुरानो भएको प्रश्न गरेपछि तत्काल सुधार्ने प्रतिबद्धता जनाए ।
सूचनाको हकका लागि राष्ट्रिय महासंघ सुदूरपश्चिम प्रदेश समितिको सहकार्यमा सञ्चालन भएको कार्यक्रममा महासंघका केन्द्रीय अध्यक्ष उमिद बागचनले सूचनाको हक र कानुनी व्यस्थाको बिषयमा प्रस्तुतिकरण राखेका थिए ।
सहभागिहरुले सूचनामा नागरिकको पहुँच बढाउनुपर्ने, सूचना प्रवाहलाई अपाङ्गमैत्री बनाउनुपर्ने र प्रविधिमैत्री बनाउनुपर्ने लगायतका बिषयमा खुल्ला छलफल गरिएको थियो ।
कार्यक्रममा सूचना अभियान्ता तथा विभिन्न क्षेत्रबाटमा कार्यरत युवा, पत्रकार र सरोकारवालाहरुको सहभागिता रहेको थियो ।