धनगढी: नेपाली काँग्रेस कैलाली जिल्ला कार्यसमितिको बैठकमा जिल्ला पार्टी सभापति नारायण दत्त भट्ट र उप–सभापति भीम बडूवालबीच माइन्यूट खोसाखोस भएको छ।
बिहीबार मोहन्याल गाउँपालिका–१ चोसेकाँडामा राखिएको जिल्ला कार्यसमितिको बैठकम लफडा भएको हो। उक्त बैठकमा मुख्य आमन्त्रितको रुपमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह थिए।
तर, बैठक सुरु नहुँदै सभापति भट्ट र उपसभापति बडूवाल बिच माइन्यूट खोसाखोस भएपछि विवाद उत्पन्न भएको हो।
जिल्ला कार्यसमितिको बैठकमा उप–सभापति भीम बडूवालको नाम माइन्यूटमा उल्लेख नभए पछि विवाद सृजना भएको थियो। बैठक सुरु नहुँदै उप–सभापति बडूवालले माइन्यूट आफ्नो कब्जामा लिएका थिए। आफ्नो नाम किन माइन्यूटमा उल्लेख नगरिएको भन्दै सभापति दत्त भट्ट सँग उप–सभापति बडूवाल झोकिएका थिए।
जिल्ला अनुशासन समितिले अनुशासन कारबाहीको लागी प्रदेश अनुशासन समितिमा पत्र पठाएको हुँदा बडूवालको नाम माइन्यूट मा उल्लेख गर्न नसकिने सभापति भट्टको भनाई थियो।
जबसम्म प्रदेश अनुशासन समिति बाट पत्र आउँदैन तबसम्म नाम माइन्यूटमा उल्लेख नगर्ने उनले बताए। केहीछिन सभापति भट्ट र उप–सभापति बडूवालबीचच बोलाचाल समेत बन्द भएको थियो।
श्रावण २२ गते पार्टी सभापति नारायण दत्त भट्टले कैलाली क्षेत्र नम्बर ४ का नेता लोकराज पाण्डे (आगो) र सुरत बहादुर कार्कीलाई कारबाही गरिएपछि उपसभापति भीम बडूवालले कारबाही विधिसम्मत नभएको भन्दै लेटर प्याडमा अर्को सूचना जारी गरेका थिए। त्यसै दिनदेखि सभापति नारायण दत्त भट्ट र उप–सभापति भीम बडूवाल बीच खुल्ला रूपमा मतभेद हुन सुरु भएको हो।
सुरुमा जिल्ला सभापतिले उपसभापतिलाई स्पष्टीकरण सोधेको र स्पष्टीकरण नदिएपछि अनुशासन समितिले कारबाहीको सिफारिस गरेको थियो।