काठमाडौँ : ‘सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम’ अन्तर्गत सशस्त्र प्रहरी बल नेपालले चौबीसै घण्टा सीमा क्षेत्रमा गस्ती परिचालनको लागि ‘सीमा पैदल गस्ती परिचालन सम्बन्धी अवधारणा पत्र, २०८०’ तयार गरी लागू गरेको छ।
अन्तर्राष्ट्रिय सीमा इलाकामा एक प्लाटुन सशस्त्र प्रहरी बल नेपालको फौज परिचालनमार्फत सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यले यो अवधारणा पत्र तयार गरी लागू गरिएको हो।
योसँगै अब प्रत्येक प्रदेशमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा एक प्लटुन टोली चौबीसै घण्टा सीमा गस्तीमा तैनाथ रहने सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
सीमासँग जोडिएका जिल्लाहरुका सीमा स्तम्भ तथा दशगजा क्षेत्रको सुरक्षा, सीमा क्षेत्रबाट हुने अपराध नियन्त्रण, सीमा अतिक्रमणको अनुगमन तथा रोकथाम, सीमा क्षेत्रमा हुने राजस्व चुहावट नियन्त्रण तथा गैह्रकानुनी गतिविधि नियन्त्रण गर्न थप प्रभावकारी बनाउने उद्देश्यले यो अवधारणा पत्रसहित फौज परिचालन गरिएको हो ।
यसकासाथै सशस्त्र प्रहरी बल र छिमेकी मित्रराष्ट्रका समकक्षीसँग समन्वय र सहकार्यमा समेत सहयोग पुग्नेछ।