काठमाडौं : सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईं र उनका बडीगार्डले राख्न नमिल्ने हतियार राखेको भन्दै छानबिन गर्न आदेश दिएको छ ।
मंगलबार न्यायाधीशद्वय नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले प्रसाईंका बडिगार्ड रामकुमार धिमालको साथबाट बरामद हतियार स्वचालित भएकाले लाइसेन्स लिएर पनि व्यक्तिले बोक्न नमिल्ने भन्दै छानबिन गर्न गृह मन्त्रालयलाई आदेश दिएको हो ।
५ चैतमा सर्वोच्च अदालत परिसरबाट दुर्गा प्रसाईंका बडिगार्ड राजकुमार धिमाल हतियार सहित पक्राउ परेका थिए ।
प्रसाईंका बडिगार्ड धिमालबाट अर्मेरिया पारिन एसएलआर–इटाली राइफल गन २२ एलआर–मेड इन जमर्नी लेखिएको स्वचालित हतियार बरामद भएको थियो ।
त्यस्तै १०० राउण्ड गोली लोड भएका म्यागजिन समेत प्रसाईंका बडिगार्डबाट बरामद भएको थियो ।
हतियारसहित धिमाल पक्राउ परे पनि हतियार बोक्ने लाइसेन्स भने प्रसाईं र अर्का बडीगार्ड दीपक खड्कासँग थियो । त्यसैले प्रहरीले उनीहरु दुबैलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको थियो ।
तर उनीहरुको परिवारका सदस्यले दिएको बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाइ गर्दै सर्वोच्चले रिहा गर्न आदेश दिएको छ ।