काठमाडौँ : रक्षामन्त्री हरिप्रसाद उप्रेतीले नेपाली सेनाले गरिरहेका विकास निर्माणका काम चित्तबुझ्दो नभए एक्शनमा जाने बताएका छन्।
बुधवारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले यस्तो बताएका हुन्। उनले सेनाले काम गरिरहेका केही आयोजनाहरुको आफूले निरीक्षण गरेको र अब काम ढिला नगर्न विभिन्न उपायहरु दिएको भन्दै अब पनि काम तरिकाअनुसार हुन नसके आफू एक्शनमा जाने बताए।
उनले सेनालाई स्थानीय निकायको गिटी बालुवा बेचबिखनका केही समस्या रहेकाले पनि काममा ढिलाइ भइरहेको जानकारी आफूले पाएको बताए। उनले काम गर्दै जाँदा गाउँ नै बग्ने समस्याहरु आएका कारण पनि काममा केही ढिलाइ हुन गएको बताए।
उनले त्यही खर्चमा स्लोपिङको बाटोको ठाउँमा सुरुङ मार्ग बनाउनुपर्ने स्थिति सिर्जना भएकाले पनि विकास निर्माणका काममा केही ढिलाइ भएको बताए। विकास निर्माणमा अब अवरोध हुने र गर्ने छुट आफूहरुलाई नरहेको उनले बताए।