बैतडी: बैतडीको दोगडाकेदार गाउँपालिका–२ कफलकोटकी १७ वर्षीया पशुपती महरालाई आत्महत्या गर्न बाध्य बनाएको आफन्तले आरोप लगाएका छन्। डोटीका प्रकाश बलायरले पशुपतीलाई सामाजिक सञ्जालबाट साथी बनाएको र ललाईफकाई गोप्य अंग देखाउन लगाएको तथा सोही क्रममा स्क्रीन सटगरी सामाजिक सञ्जालको ग्रुपमा शेयर गरी आत्महत्या गर्न बाध्य तुल्याएको आफन्तको भनाइ छ।
सोबारे प्रहरीलाई सबै जानकारी दिइसकिएको आफन्त समेत रहेका निवर्तमान वडा अध्यक्ष दलबहादुर महराले बताए। सामाजिक सञ्जालमा सेयर भएका तस्बिरहरु समेत आफन्तले फेला पारेका छन्। उक्त तस्बिर सहितका विवरणहरु समेत प्रहरीलाई बुझाइएको छ।
किशोरीको कोठामा ‘सूसाइड नोट’ पनि फेला परेको छ। उक्त नोटमा आत्महत्याको बाटो रोज्नुको कारण खुलाएकी छैनन्।
सूसाइड नोटमा परिवार र इष्टमित्रहरुसँग क्षमा मागेकी छन्। आमा बुवाको स्वास्थ्यमा ख्याल गर्न भनेकी छन् भने भाईको गायक बन्ने सपना पुरा होस भन्ने कामना गरेकी छन्। दुई पेज लामो नोटमा उनले आफू यो कारणले आत्महत्या गर्न लागेको भन्ने विषय खुलाएकी छैनन्।
(सरी ममी, पापा, भाई तपाईहरुको सपना पूरा गर्न सकिन, अर्काेजुनी तिम्रै दिदी भएर आउनेछु, बुवा आमाको राम्रोसँग ख्याल राख्नु र मेरो दादा रक्सी नखानु, भाउजुलाई धेरै माया गर्नु, भाईको गायक बन्ने सपना थियो, यो सपना पूरा होस् भगवान, पृय साथीहरु र इस्टमित्र सबैलाई सम्झेकी छु, ….
लभ यू मम,
लभ यू पापा,
लभ यू भाई,
लभ यू दिदी,
बाबा बिरामी हुनुहुन्छ,ख्याल गर्नुहोला, सबैलाई सम्झेको छु लभ यू अल….)
सूसाइड नोटमा मृत्युवरण गर्नुको कारण नखुलाएपनि आफन्त र परिवारका सदस्यहरुको भनाइअनुसार बलायरलेनै सामाजिक सञ्जालमा गोप्य अङ्ग देखाएपछि यो घटना भएको दावी छ।