धनगढीः कैलालीको एक सहकारीमा ठगीको आरोपमा एक महिलासहित २ जना पक्राउ परेका छन्।
जिल्लाको गौरीगंगा नगरपालिका–४ राजीपुरमा रहेको राधाकृष्ण बचत तथा ऋण सहकारीका तत्कालीन अध्यक्ष चन्द्र प्रकाश सापकोटा र क्यासियर देवकी कुमारी जोशी पक्राउ परेका हुन्। उनीहरूलाई इलाका प्रहरी कार्यालय, मालाखेतीसहितको टोलीले पक्राउ गरेको हो।
राधाकृषण बचत तथा ऋण सहकारी संस्थाका तत्कालीन अध्यक्ष सापकोटा, व्यवस्थापक जितनारायण आर्चाय, क्यासियर जोशी लगाएतकाको मिलोमतामा सात लाख ८० हजार गोलमाल भएको आरोप छ। आर्चायले सात लाखको चेक, ७५ हजार ऋणीले फोन पे मार्फत तिरेको रकम र पाँच हजार एक ऋणीलाई व्याजमा छुट दिएर फरार भएका थिए।
सात लाखको चेक सहकारीका क्यासियर जोशीको नाममा काटिएकाले उनलाई पनि पक्राउ गरिएको हो।
सहकारीका व्यवस्थापक आर्चायले गत वर्षको फागुन ३ गते राजीनामा दिएका थिए। तर, उनले फागुन महिनाको २७ दिन र चैत महिनाको तलब समेत बुझिसकेका छन्। उनी एक वर्षदेखि फरार रहेका छन्।
सहकारीको छानबिन समितिको प्रतिवेदनमा सो रकम पनि फिर्ता हुनुपर्ने उल्लेख गरिएको छ। पाँच हजार व्याजमा छुट दिनुको कारणसमेत प्रतिवेदनले माग गरेको छ।
तर, व्यवस्थापक आर्चायले फोन बन्द गरेका छन्। राधाकृष्ण बचत तथा ऋण सहकारीको १० करोड बढी पूँजी रहेको छ। सहकारी व्यवस्थापकले काउण्टरमा बुझाएको दाबी गर्दै आए पनि काउण्टरमा रकम जम्मा नभएको सहकारीले जनाएको छ।