धनगढी : धनगढी जेसिजले नयाँ बर्षको अवसरमा आयोजना गर्दै आएको धनगढी हाफ म्याराथनको तयारी अन्तिम चरणमा पुगेको छ । धनगढीको समग्र विकासका लागि अब धनगढी दौडिन्छ भन्ने नाराका साथ आयोजना हुने दशौं संस्करणको प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।
आगामी २०८१ बैशाख १ गते हुने हाफ म्याराथनको प्रायः अधिकांश तयारी सकिएको प्रतियोगिताका संयोजक आशिष शाहले जानकारी दिए । २०१४ देखि नयाँ बर्षको अवसरमा आयोजना सुरु भएको धनगढी हाफ म्याराथनको दशौं संस्करणले नेपाल एथलेटिक्सबाट स्वीकृत प्राप्त गरेको छ ।
यो म्याराथनमा कुनै रेकर्ड बनेमा यसका रेकर्डहरुले पनि मान्यता पाउने संयोजक शाहले जानकारी दिए ।
धनगढी हाफ म्याराथनको विजेताले नगद ६६ हजार ६ सय ६६ रुपैयाँ, उपविजेताले नगद ४४ हजार चार सय ४४ रुपैयाँ र तेस्रो हुनेले नगद ३३ हजार तीन सय ३३ रुपैयाँ प्राप्त गर्नेछन् ।
धनगढी हाफ म्याराथन धनगढी रंगशालादेखि सुरु भएर सहिद गेटहुदैँ गेटा मेडिकल कलेजको मनेहरा पुलको मोड भएर पुनः धनगढी रंगशालामा पुगेर समापन हुने पत्रकार सम्मेलनमा धनगढी जेसिजका अध्यक्ष अरुण सिंहले बताए ।
प्रतियोगिता अन्तर्गत महिला तर्फ तथा कर्पोरेट र सञ्चारको ५ किलो मिटरको दौड पनि आयोजना गरिनेछ । दुई वटै विधाका विजेताले नगद ६,६६६ उपविजेताले नगद ४,४४४ र तेस्रो हुनेले नगद ३,३३३ प्राप्त गर्ने धनगढी जेसिजका अध्यक्ष सिंहले बताए ।