धनगढी : काभ्रे प्रहरीले अनलाइनमार्फत् १९ लाख रुपैयाँ ठगी गरेको आरोपमा दार्चुलाका एक युवकलाई काठमाडौँबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दार्चुलाको ब्यास गाउँपालिका-६ घर भई हाल काठमाडौँ महानगरपालिका-३१ शान्तिनगरमा डेरा गरेर बस्ने भुवनसिंह धामी छन् । उनलाई केही दिनअघि प्रहरीले पक्राउ गरेको हो ।
धामीले डोल्पाको ताङसो, गाँउपालिका-६ घर भई हाल काभ्रेको नमोबुद्द नगरपालिका-१ मा रहेको नमोबुद्ध गुम्बामा अध्ययन गरी बस्ने १७ वर्षीय कार्मा तेन्जेन गुरूङबाट १९ लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।
धामीले ती किशोरसँग सामाजिक सञ्जालमार्फत् सम्बन्ध स्थापित गरी पटकपटक गरेर खल्ती एपमार्फत् १९ लाख रुपैयाँ ठगी गरेको पाइएको हो ।
उनले किशोरलाई सामसुङ मोबाईल र अन्य विभिन्न किसीमका सामानहरू सस्तोमा पठाइदिन्छु भन्दै १९ लाख रुपैयाँ असुल गरेका प्रहरी अनुसन्धानबाट खुलेको छ ।
पीडित पक्षको जाहेरीको आधारमा धामीलाई पक्राउ गरी जिल्ला अदालत काभ्रेबाट म्याद थप गरेर कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।