धनगढी : कैलालीमा बढ्दै गएको लागूऔषधको कारोबार रोक्न नेपाल/भारत सीमा सुरक्षाकर्मीको संयुक्त अपरेसन संचालन गरिएको छ।
गत चैत्र अन्तिम साता भारतको पलियामा भएको सुरक्षाअधिकारीको समकक्षी बैठकमा लागूऔषधको कारोबारमा संलग्नहरू विरुद्ध संयुक्त अपरेसन गर्ने सहमति भएको थियो।
बैठकमा कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले भारतीय कारोबारीको कारोबारस्थलमा छापा मारेर नियन्त्रण गर्नुपर्ने प्रस्ताव गरेका थिए।
सोही समझदारी अनुसार नेपालका सुरक्षा अधिकारीले उपलब्ध गराएको विवरणका आधारमा भारतीय प्रहरीले कैलालीको धनगढी नजिक भारतीय बजार पलिया र बनगाउँबाट गत साता चार जना भारतीय कारोबारीहरूलाई ठूलो परिमाणमा ब्राउन सुगरसहित पक्राउ गरेको छ।
कैलालीकै सीमा नाका भजनी, कुसुमघाट र टीकापुर क्षेत्रमा लागु पदार्थ कारोबार गर्ने भारतीय कारोबारीहरूको सूची बनाई पठाइएको र भारतीय प्रहरीले उनीहरूको खोजीकार्य भइरहेको जानकारी दिएको कैलाली प्रशासनले जनाएको छ।
पछिल्ला वर्षमा कैलाली लगातयका क्षेत्रका युवाहरू लागूऔषधबाट आक्रान्त छन्।
यस्तै भारतीय प्रहरीले पनि नेपाली युवायुवती सेवनकर्तालाई भेटाएपछि नेपाल प्रहरीलाई बुझाउने गरेको छ। आजमात्रै पलियामा बेहोस भेटिएका तीन किशोरीलाई भारतीय प्रहरीले गौरीफन्टा पु¥याएको छ।
भारतीय प्रहरीका अनुसार उनीहरू पलियामा लागुऔषध सेवन गरेर बेहोस भएका थिए।
सडकमा बेहोस भेटिएका दुर्व्यसनी किशोरीहरूलाई भारतीय प्रहरीले गाडिमा राखेर नेपाल–भारत सीमा क्षेत्र गौरीफन्टा पु¥याएको हो। धनगढीका तीन किशोरीलाई भारतीय प्रहरीले नेपाल सीमामा ल्याएर छोडेको हो।
धनगढीकी चन्दा विक, रिया पाली र माया पालीलाई भारतीय प्रहरीले पलियाबाट गौरीफन्टासम्म ल्याएको भारतीय समाचार माध्यमले जनाएका छन्। उनीहरूलाई सीमा क्षेत्रमा रहेको शान्ति पुनर्स्थापना गृहमा राखिएको र पछि आफन्तले बुझेर लगेका बताईएको छ।
यस्तै मंगलवार पनि एक जना र बुधवार २ जना किशोरीहरूलाई भारतीय प्रहरीले गौरीफन्टा सीमा क्षेत्रमा ल्याएर छोडेको थियो।
भारतीय प्रहरीका अनुसार पलिया, वनगाव लगायतका सहरहरू नेपाली लागुऔषध सेवनकर्ताहरूको अखडा बन्दै गएका छन्। त्यहाँ नेपाली सेवनकर्ताहरू बढेपछि पलिया बदनाम हुन थालेकाले भन्दै भारतीय प्रहरीले उनीहरूको सूची तयार गरिरहेको जनाएको छ।