धनगढी : कैलालीमा भन्सार छली गरि ल्याइएको पाँच लाख मूल्य बराबरको सामान बरामद गरिएको छ ।
धनगढी उपमहानगरपालिका, टीकापुर नगरपालिका, भजनी नगरपालिका र कैलारी गाउँपालिकामा भारतबाट भन्सार छली गरि अवैध रुपमा ल्याइरहेको अवस्थामा पाँच लाख नौँ हजार ५४० रुपैयाँ बराबरको सामान बरामद गरिएको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहराले जानकारी दिए ।
उनकाअनुसार धनगढी उपमहानगरपालिका–३ को ज्ञानुप्लाजा नजिकैबाट एक लाख २८ हजार बराबरको कुर्ति, सुट, दोपट्टा, भजनी नगरपालिका–८ को खैराबाट दुई लाख ३४ हजार रुपैयाँ बराबरको हिरोहिन्डो मोटरसाइकलसहित सुर्ती र बिडि बरामद गरिएको छ ।
यस्तै, भजनी नगरपालिका–५ को लालबोझी र पिपलकोटीबाट ८० हजार बराबरको ३५० किलो चिनी, खाने तेल, प्लाष्टिक झोला लगायतका सामान, टीकापुर नगरपालिका–९ को खक्रौलाबाट २५ हजारको तर्बुजा र कैलारी गाउँपालिका–५ बाट १० हजार बराबरको दुई वटा टेबुल पंखा बरामद गरिएको प्रहरी नायब उपरीक्षक बोहराले बताए ।
भारतबाट भन्सार छली गरि ल्याइएका सामान आवश्यक कारवाहीका लागि कैलाली भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।