काठमाडौं : जिल्ला प्रहरी कार्यालय, सिराहाका एसपी सन्तोष आचार्यमाथि प्रहरी प्रधान कार्यालयले छानविन थालेको छ ।
स्थानीय बिचौलिया नरेश साहसँग मिलेर गैरव्यवसायिक गतिविधिमा लागेको आरोप आचार्यमाथि छ ।
साहलाई प्रहरी प्रधान कार्यालयको गोप्य टोलीले शनिबार पक्राउ गरेको छ । साह हुन्डी कारोबार तथा तस्करीको सेटिङ मिलाउने व्यक्तिका रूपमा चिनिन्छन् ।
उनको एसपी आचार्यसँग पनि निकटता देखिएको स्रोत बताउँछ । साहको मोबाइलका आधारमा छानविन सुरु भएको छ । एसपी आचार्य तीन महिनाअघि मात्र सिराहा सरुवा भएका हुन् ।
यसअघि प्रहरी प्रधान कार्यालयले कार्यक्षमतामा कमजोर रहेका ६ एसपीलाई तानिसकेको छ । आचार्यको हकमा पनि कैफियत देखिएका हटाउने सम्भावना छ ।
त्यस्तै, सुनसरीका एसपी विपिन रेग्मीमाथि समेत उजुरी बढ्न थालेको छ । जिल्लामा समन्वय राम्रो गर्न नसकेको र तस्करी समेत बढेको भनेर प्रहरी प्रधान कार्यालयमा रिपोर्टिङ भएको छ ।