काठमाडौं : प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले नेपाल प्रहरीप्रति जनगुनासोमा कमी ल्याउन आचरण सुधार गर्नुपर्ने बताएका छन् ।
प्रहरी प्रधान कार्यालय नक्सालमा सोमबार नेपाल प्रहरी कार्ययोजना, २०८० तथा चालु आर्थिक वर्ष २०८०र८१ को कार्यसम्पादन सम्झौताको तेस्रो त्रैमासिक कार्य प्रगति समीक्षामा उनले यस्तो बताएका हुन् ।
आईजीपी कुँवरले नेपाल प्रहरीको आन्तरिक सुदृढीकरणलाई प्रमुख आधार विन्दु मान्दै तयार गरिएको कार्ययोजनामा आधारित रहेर चालु आर्थिक वर्षमा गरिएको कार्यसम्पादन सम्झौता कार्यान्वयनको हालसम्मको अवस्था सन्तोषजनक रहेको बताए ।
वार्षिक लक्ष्य हासिल गर्न कार्यान्वयनमा थप तीव्रता दिन आवश्यक रहेकोमा उनले जोड दिए ।
कार्ययोजनाअन्तर्गत तर्जुमा गरिएका योजना प्रतिवेदनहरूलाई तत्काल कार्यान्वयनमा लैजानुपर्ने बताउदै उनले वार्षिक लक्ष्यअनुसार मातहत कार्यालयहरूले कार्यसम्पादन गरे नगरेको उपत्यका तथा प्रदेश प्रहरी कार्यालयहरूले नियमित अनुगमन मूल्यांकनलाई निरन्तरता दिनुपर्ने बताए ।
प्रहरी कर्मचारीहरूको आचरण व्यवहारमा आउने सुधारसँगै आम नागरिकले राख्ने गुनासोमा स्वतः कमी आउने तथ्यलाई समेत ध्यानमा राखी कार्यसम्पादन गर्न प्रदेश तथा जिल्ला तहका कमाण्डरहरूलाई उनले निर्देशन दिएका छन् ।