धनगढी: कैलालीमा प्रहरीमाथि नै तस्करको समूहहरुले निगरानी राख्ने गरेको पाइएको छ। कैलालीका विभिन्न सीमानाकाबाट तस्करी गर्नेहरुले प्रहरीमाथि निगरानी राख्ने गरेको पाइएको हो।
आज शनिबारमात्रै एक जना प्रहरीमाथि निगरानी राख्ने तस्करका खुफिया पक्राउ परेका छन्। धनगढी उप-महानगरपालिका-७ मनेहरा बस्ने बुद्दीराम चौधरी पक्राउ परेको प्रहरीले जनाएको छ।
उनले विगत लामो समयदेखि जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहतबाट खटिने प्रहरी टोलीको गोप्य रुपमा निगरानी गरी प्रहरी टोली रहेको स्थान र गतिविधीको बारेमा अवैध रुपमा भन्सार चोरी, पैठारी तथा निकासी गर्ने नेपाली तथा भारतीय मुलका विभिन्न मानिसहरुको समूहलाई सूचना गरेको खुलेको हो।
यस्तै उनले सूचना दिएबाफत प्रति सूचना रु.५०० का दरले लिने गरेको बताइएको छ।
अहिले उनलाई नियन्त्रणमा लिएर राष्ट्र सेवकलाई कामकाजमा बाधा अवरोध गरेको कसूरमा थप अनुसन्धान भैरहेको कैलाली प्रहरीले जनाएको छ।