धनगढी : कञ्चनपुरको भीमदत्त नगरपालिकाका निवर्तमान नगर प्रमुख सुरेन्द्र विष्टले विशेष अदालतबाट सफाइ पाएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोप लगाउँदै मुद्दा दायर गरे पनि अदालतले दाबी नपुग्ने फैसला गर्दै सफाइ हुने ठहर गरेको छ ।
कोरोना महामारीको बेला महाकाली नदीको नदीजन्य पदार्थ संकलन नभएको अवस्थामा रोयल्टी छुट दिएको अवस्थामा अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अख्तियारले विशेष अदालतमा भवानी कन्स्ट्रक्सन प्रालि समेत ११, सुरेन्द्र विष्ट समेत १४ र सुरेन्द्र विष्ट समेत १२ गरी ३ मुद्दा दायर गरेकोमा सबै मुद्दामा सफाइ हुने फैसला भएको छ ।
विशेष अदालतका न्यायाधीश टेक नारायण कुँवर, रामबहादुर थापा र रितेश थापाको इजलासले मंगलबार भ्रष्टाचार मुद्दामा सफाइ हुने फैसला गरेको छ ।
अख्तियारले मुद्दा लगाएपछि नगरपालिकाका थुप्रै कर्मचारी निलम्बनमा परेर नगरपालिकामा कर्मचारीको अभाव भएको थियो ।