धनगढी: केही समय अगाडि दुई जना एसपी जिल्ला कमाण्ड गर्दागर्दै तानिए। यसरी तानिनेमा इलामका तत्कालीन एसपी वासुदेव खतिवडा र सिरहाका एसपी सन्तोष आचार्य रहेका छन्।
खतिवडा सरुवा भएको तीन महिना नपुग्दै त्यहाँबाट तानिएका हुन्। सिरहाका एसपी आचार्य पनि केही महिनामै तानिएका हुन्।
उनीहरू तानिएपछि जिल्ला प्रहरी कार्यालय इलामको प्रमुखमा प्रभु ढकालको काज सरुवा गरिएको छ। उनले त्यहाँ पुगेर कार्यभार सम्हालिसकेका छन्।
यस्तै, सिरहामा एसपी रमेश पण्डितको काज सरुवा गरिएको छ। त्यसअघि प्रहरी मुख्यालयले सिन्धुलीको एसपीमा गोविन्दराज काफ्लेको पनि काज सरुवा गरेको थियो। त्यहाँ कार्यरत एसपी विनोद शर्मालाई प्रहरी प्रधान कार्यालयमा तानिएको थियो। उनीमाथि आर्थिक अनुशासन कायम नराखेको आरोप थियो।
बेलाबेला बिनाकारण तराईका विभिन्न जिल्लामा खटिएका एसपीलाई एक महिना नपुग्दै सरुवा गरिँदा आइजी वसन्तबहादुर कुँवर विभागभित्रै विवाद र आलोचनामा पर्दै आएका छन्।
प्रहरी हेडक्वार्टर स्रोतका अनुसार गृहमन्त्री रवि लामिछाने र उनीनिकटका केही व्यक्तिले रोजेका प्रहरीलाई पोष्टिङ दिनका लागि काम गरिरहेका कमाण्डरलाई समय नपुग्दै तान्ने गरिएको हो।
पहिला बिना कारण तानिएको भन्दै सरुवाको अत्यधिक आलोचना भएपछि कारण देखाइएको छ। तर कारणहरु भने एकोहोरो देखिन्छन्।
यसमध्ये इलामका एसपी वासुदेव खतिवडाका हकमा राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत एक हवल्दारकी पत्नीसँग अमर्यादित व्यवहार गरेको भन्ने आरोप लगाइएको छ। हेडक्वार्टरका एक जिम्मेवार अधिकृतका अनुसार विभागका हवल्दारलाई ‘एसपीविरुद्ध उजुरी नदिन र उनको भविष्य नबिगारिदिन आग्रह गर्दै त्यसको बदलामा सरुवा गरिदिने’ भनिएको थियो।
तर, एसपी खतिवडाले आरोप प्रमाणित भएमा कानुनबमोजिमको सजायँँ भोग्न तयार रहेको बताउँदै आएका थिए। चुनावको समयमा इलाम पुगेका गृहमन्त्री रवि लामिछाने र उनको टोलीका सदस्यले राखेका सबै अपेक्षा पूरा नगरिदिएका कारण वासुदेवलाई तानिएको हेडक्वार्टरका एसपीहरूको भनाइ छ।
तर, उक्त कारण बताएर एसपीलाई सरुवा गर्न नमिल्नाले नक्कली कारण खडा गरिएको चर्चा हेडक्वार्टरमा छ।
उता, सिरहाबाट तानिएका एसपी सन्तोषको हकमा घुमुवा राख्न नपाएपछि बिचौलिया खडा गरेर नाकामा अनियमितता गरिएको आरोप लगाइएको छ। तर, हेडक्वार्टरबाट गएको टोलीले माडरका व्यापारी नरेश साहलाई पक्राउ गरी ती व्यक्ति नै एसपीको बिचौलिया हुन् भन्ने कुरा जबरजस्ती स्थापित गर्दै उनको सरुवा गरिएको छ।
सीमावर्ती नाकाहरूमा गृहमन्त्रीको पार्टी रास्वपाका मान्छे सल्बलाउने र उनीहरूको मागबमोजिम प्रहरीले काम गर्न नसक्दा तानिनुपर्ने नियति यसअघि अन्य एसपीले पनि भोगिसकेका छन्। अहिले तानिएका दुबै एसपी जागिरे जीवनमा हालसम्म कुनै विवादमा नपरेका व्यक्ति हुन्। खतिवडा ०५८ र आचार्य ०६१ का इन्स्पेक्टर हुन्।