धनगढी: नेपाल प्रहरीका ३ जना कर्मचारीविरुद्ध कैलाली जिल्ला अदालतमा कुटपिटको मुद्दा दर्ता गरिएको छ। हालै प्रहरीका बरिस्ठ सई रमेश खड्का र सईद्वय अनिल बिष्ट र दिपेन्द्र किमाडीविरुद्ध अदालतमा मुद्दा दर्ता भएको हो।
पूर्व सई मदन धामीले उनीहरूविरुद्ध कुटपिटको मुद्दा दर्ता गरेको जानकारी दिएका छन्। उनका अनुसार धनगढीमा खड्का, बिष्ट र किमाडीले गत वर्षको पुस ५ गते धनगढीको त्रिनगरस्थित प्रहरी चौकीमै लगेर कुटपिट गरेका थिए।
धामीले आफूलाई पुस ५ गतेका दिन बिहान ८ बजेको समयमा घरबाट बोलाई चौकीमा लगेर कुटेको दाबी गरेका छन्। तर प्रहरीले भने नकुटेको बताउँदै आएको छ।
पुस ५ कै दिन धामीलाई थुनामा पनि राखिएको उनलाई तत्कालीन समयमा २४ दिन थुनामा राखिएको हो।
कैलालीमा धामीले असुली, तस्करी, धम्की दिने र अपराधिक गतिविधि गर्ने गरेको भन्दै उनलाई थुनिएको थियो। तर, पछि धामी धरौटीमा छुटेका थिए।
उनीमाथि ठगीमा मुद्दा चलाएर हिरासतमा राखेर अनुसन्धान भएकोमा ५० हजार धरौटीमा जिल्ला अदालत कैलालीले छोडेको थियो।
तर धामीले भने आफूलाई फसाइको आरोप लगाउदै आएका छन्। उनले तत्कालीन समयमा त्रिनगर चौकीका इन्चार्ज रहेका खड्का र तत्कालीन समयमा सुदूरपश्चिम प्रदेश प्रहरीको अनुसन्धान समूह (आरआइटी) मा कार्यरत बिष्ट र किमाडीले फसाउनेदेखि कुटपिटसम्मका क्रियाकलाप गरेको धामीको भनाई छ।
सोही कारण आफूले अदालतमा मुद्दा दर्ता गरेको उनले बताए।
हाल धनगढीस्थित गणमा दरबन्दी रहेका किमाडी धनगढी बसपार्कको इन्चार्ज छन्, बिष्टको बाजुरा दरबन्दी भएकोमा उनी काजमा धनगढीस्थित एक मन्त्रालयमा कार्यरत छन् भने ख्ड्का प्रहरी हेडक्वाटर नक्सालमा कार्यरत छन्।
के उनीहरू निलम्बनमा पर्छन् ?
मुद्दाको किनारा लगाउने विषय अदालतको भएपनि प्रहरीमा अनुशासन एवं विभागीय कारबाही पनि हुने गरेका छन्। तर अदालत फौजदारीबाहेक अन्य प्रकृतिका मुद्दा परेका प्रहरी कर्मचारी भने निलम्बनमा नपर्ने प्रहरी प्रधान कार्यालयका प्रवक्ता एवं एसएसपी दानबहादुर कार्कीले महेन्द्रनगरपोष्टलाई बताए। उनका अनुसार कुटपिट मुद्दा अदालतले नै टुङ्ग्याउने छ।