धनगढी: सुदूरपश्चिममा नेपाली काँग्रेसले गृहमन्त्री एवं उपप्रधानमन्त्री रवि लामिछानेको विरुद्ध र कान्तिपुर मिडिया हाउसका मालिक कैलाश सिरोहियाको पक्षमा आन्दोलन एवं मुभमेन्ट बढाएको छ। हिजो (शनिबार) बाट काँग्रेसले धनगढीसहितका क्षेत्रमा आन्दोलन थालेको हो।
हिजो नेविसंघका नेताहरुले मुख्यमन्त्री कार्यालय अगाडि सोही विषयलाई लिएर विरोध प्रदर्शन गरेका थिए। उता धनगढीमै भएको प्रेस युनियनको प्रदेश सम्मेलन समारोहमा बोल्दै सुदूरपश्चिमका पूर्व मुख्यमन्त्री कमलबहादुर शाह र पूर्वमन्त्री प्रकाशबहादुर देउवा सहितले रविको विरोध गर्दै कैलाश सिरोहियाको बचाउ गरेका थिए। उनीहरूले सरकारको कदमले लोकतन्त्र र प्रेस स्वतन्त्रता खतरामा परेको जिकिर गरेका थिए।
सहकारी ठगी प्रकरणमा मुछिएपछि काँग्रेसले सडक र सदनसम्मै गृहमन्त्री लामिछानेको राजीनामा मागेर छानबिन गर्नुपर्ने अडान राख्दै आएको छ।
सोही क्रममा आज (आइतबार) कांग्रेसले सुदूरपश्चिम प्रदेशसभाकाे बैठक बहिष्कार गरेकाे थियो। आइतबार दिउँसो बसेकाे बजेट अधिवेशनकाे पहिलो बैठकमा विराेध जनाएर कांग्रेस र नागरिक उन्मुक्ति पार्टीकाे रेशम चाैधरी पक्षले बैठक बहिष्कार गरेकाे हाे।
कांग्रेस र नाउपाका सांसदहरू बेल घेराउ गर्दै सहकारी ठगीमा मुछिएकाहरूमाथि छानबिन गर्न माग गर्दै नाराबाजी बाहिरिएका थिए।
उभिएर विरोध जनाएपछि सभामुखले दिएकाे समयमा बाेल्दै कांग्रेसका प्रमुख सचेतक बिक्रम धामीले सहकारी ठगीमा जाेडिएकाहरूमाथि छानबिन गर्नुपर्ने बताएका थिए।
उनले गृहमन्त्रीले सञ्चार माध्यममाथि प्रतिशाेध साँध्न कान्तिपुर पब्लिकेसनका अध्यक्ष सिराेहियालाई पक्राउ गरेकाे आराेप लगाउदै सञ्चार माध्यमलाई कमजोर बनाउने काम स्वीकार्य नहुने पनि बताएका थिए।
त्यस्तै काठमाडौंमा पनि लामिछानेमाथि छानविनको माग गर्दै सदन अवरुद्ध पारिरहेको काँग्रेस सडकमै ओर्लिएको छ। काँग्रेसले सत्ताको बलमिच्याई र सहकारी ठगीविरुद्ध भृकुटीमण्डपमा विरोधसभा गरेको हो।
काठमाडौं जिल्ला सभापति सबुदकृष्ण बानियाँको सभापतित्वमा शुरु भएको सभामा महामन्त्री विश्वप्रकाश शर्मा, राष्ट्रिय सभा सदस्य कृष्ण प्रसाद सिटौला, केन्द्रीय सदस्य तथा बाग्मती प्रदेशका सांसद कुन्दनराज काफ्ले, प्रतिनिधिसभा सांसद राजन केसी, पूर्वउपसभामुख पुष्पा भुसाललगायत सहभागी थिए।
त्यसअघि काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट र्याली निकालिएको थियो। तरूण दलले रत्नपार्कस्थित शान्तिबाटीबाट जुलुस निकालेको थियो। नागरिकता प्रकरणमा पक्राउ परेका सिरोहियाको पनि काँग्रेसले सुरुदेखि नै दरिलो बचाउ गर्दै आएको छ।