काठमाडौं: गृहमन्त्री रवि लामिछानेले पछिल्लो सुन तस्करीको छानबिन गर्न गठित आयोगले कारबाहीको सिफारिस गरेका एक विवादित सहसचिवलाई पुरस्कृत गरेका छन्। गृहमन्त्रालयले बुधबार १६ (प्रमुख जिल्ला अधिकारी) सीडीओसहित २५ सहसचिवको सरुवा गरेको छ।
सो सरुवासूचीअनुसार सुन तस्करी छानबिन आयोगले कारबाही गर्न सिफारिस गरेका सहसचिव अरुण पोख्रेललाई गृहमन्त्रालयबाट सरुवा गरेर नवलपरासी (बर्दाघाट सुस्ता) को सीडीओको जिम्मेवारी दिएका छन्। गृहको एउटा विभागमा कार्यरत कर्मचारीलाई जिल्लाको बागडोरको जिम्मेवारी दिएर पठाएका गृहमन्त्री लामिछानेले सुन तस्करी प्रकरणमा कर्मचारीलाई बचाउन लागेका छन्।
सुन तस्करीको अनुसन्धान गरिरहेका प्रहरी अधिकृतहरुलाई कारबाहीको दायरामा ल्याएर जिम्मेवारीबिहीन बनाइरहँदा लामिछानेले कर्मचारीलाई भने पुरस्कृत गरिरहेका छन्। छानबिनको नाममा प्रहरी अधिकृतहरुको मनोबल गिराइरहेका गृहमन्त्रीले कर्मचारीलाई भने उत्कृष्ट जिम्मेवारी दिने गरेका हुन्।
सहसचिव पोख्रेल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार प्रमुख रहेकै समयमा २०७९ पुस १० गते इलेक्ट्रिक चुरोट ‘भेप’मार्फत् सुन तस्करी भएको थियो। तस्करीको समयमा जिम्मेवार पदमा रहेका पोख्रेल तस्करीमा संलग्न रहेको ठहर गर्दै छानबिन आयोगले कारबाहीको सिफारिस गरेको थियो।
तत्कालिन समयमा चीनबाट ‘भेप’मार्फत ल्याइएको करोडौंको सुन विमानस्थलको भन्सारमा ल्याएर ४७ दिनपछि भन्सारका नासु रेवन्त खड्कासँगको मिलेमतोमा भन्सार एजेन्ट दिनेश बस्नेतले चोरेर भारतीय व्यापारी नन्दुकुमार राण्डुराम मर्गलेलाई बेचेका थिए।
बस्नेतले मर्गलेलाई ९ करोड सुन बेचेर ६ करोड आफूले राखेको खुलेको थियो। त्यसबेला अनुसन्धानको दायरामा नआएका सहसचिव पोखरेलमाथि छानबिन आयोगले अनुसन्धान गर्दा उनी पनि संलग्न रहेको ठहर गरि कारबाहीको सिफारिस गरेको थियो।