काठमाडौं: नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २३ वर्ष पूरा भएको छ।
२०५८ जेठ १९ गते राति राजदरवारभित्रै तत्कालीन राजा वीरेन्द्र शाहको वंश नाश भएको हो। उक्त हत्याकाण्ड भएको आज २३ वर्ष पूरा भएको हो।
नियमित पारिवारिक जमघटको मौका पारी तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र र निराजन, राजकुमारी श्रुति, राजकुमार धिरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ती, राजकुमारी शारदा, कुमार खड्कासहित राजपरिवारका अन्य सदस्यहरूको गोली हानी हत्या भएको थियो।
घटनामा कोमल शाह, शोभा शाही, कुमार गोरखशमशेर र केतकी चेस्टर घाइते भएका थिए। उक्त दरबार हत्याकाण्ड २३ वर्षसम्म पनि रहस्यमयको गर्भमै छ। हत्याकाण्ड भएको यतिका वर्ष हुँदा पनि यो हत्याकाण्डको रहस्यको पर्दा अझै खुलेको छैन।
उच्चस्तरीय छानबिन समितिले उक्त घटनामा तत्कालीन युवराज दीपेन्द्रले परिवारका सदस्यहरूलाई गोली हानेर पछि आफैँलाई गोली हानेको भन्ने प्रतिवेदन सार्वजनिक गरेको थियो।
तर, यो प्रतिवेदनप्रति आम नागरिकले विश्वास जताउन सकेका छैनन्। रहस्यको पर्दा खुल्न नसकेको यो उक्त हत्याकाण्डको यथार्थ छानबिन हुनुपर्ने माग हुँदै आएको छ।
वीरेन्द्रको वंशनाशपछि राजा बनेका उनका भाइ ज्ञानेन्द्रले राजतन्त्र जोगाउन सकेनन्। नारायणहिटी दरबारलाई अहिले संग्रहालय बनाइएको छ।