काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले सार्वजनिक गरेको बजेट अर्थमन्त्रीको भन्दा पनि पार्टीको बजेट जस्तो देखिन गएको टिप्पणी गरेका छन ।
शनिबार संसद भवन नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले बजेट सरकारमा सहभागी दलहरुसँग परामर्श गरेर आएको भए धेरै राम्रो हुनसक्ने भन्दै छलफल नहुँदा अर्थमन्त्रीको भन्दा पनि पार्टीको बजेट जस्तो देखिन गएको टिप्पणी गरे । उनले बजेटमा रकमको बाँडफाँट पनि एकतिरमात्रै ढल्किएजस्तो देखिएको र बजेटको समग्र निर्माण प्रक्रियामा कमि देखिएको धारणा राखे ।
मुलुकले समाजवाद निर्माणको बाटो लिएको अवस्थामा त्यसका आधारहरु तयार गरि समाजवाद उन्मुख बजेट, नीति तथा कार्यक्रम र योजनाहरु समाउन नसिकएकाले केहि अन्यौल जस्तो देखिएको बताएका छन । यद्दपी बजेटमा अन्य धेरै राम्रा कार्यक्रहरु आएको उनको भनाइ छ । अध्यक्ष ओलीले बजेटमा देखिएका कमीलाई औल्याउदै एमालेले बजेटलाई समर्थन र पारित गर्ने स्पष्ट पारे ।
उनले बजेटमा रहेका आफ्ना मतहरुलाइ संसदमा हुने छलफलका क्रममा स्पष्ट राख्न र प्रयाप्त छलफल गर्दै पारित गर्ने वातावरण बनाउन आफ्ना सांसदहरुलाई निर्देशन दिएका छ्न ।