काठमाडौं: सुदूरपश्चिममा मुख्यमन्त्रीले सरकार विस्तार गर्ने तयारी थालेका छन्। सत्ता गठबन्धनको सहमतिअनुरुप मुख्यमन्त्रीले सरकार विस्तारको तयारी थालेको बताइएको छ।
गठबन्धन दलका एक नेताका अनुसार सम्भवतः भोलि पर्सीभित्रै सरकार विस्तार हुने छ।
यस अगाडि गठबन्धनमा सहभागी दलहरुले सरकारबारे निर्णय नगर्दा सरकार विस्तार हुन सकेको थिएन। अहिले भने मुख्यमन्त्री दीर्घबहादुर सोडारीले सरकार विस्तार गर्न तयारी थालेको स्रोतले जनाएको छ। स्रोतका अनुसार प्रदेश सरकारले ल्याउने बजेट अगाडि नै सरकार विस्तार हुने छ।
सुदूरपश्चिमको सत्ता गठबन्धनका दुई ठूला दल नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) सरकारमा सहभागि भएका छैनन्।
सरकार विस्तार हुन नसक्दा बजेट निर्माणको समयमा अर्थसहित चारवटा मन्त्रालय मन्त्रीविहीन बनेका छन्। गत ६ जेठमा एकीकृत समाजवादीका संसदीय दलका नेता सोडारी एमाले, माओवादी, नागरिक उन्मुक्ति पार्टीको रञ्जिता पक्षका सांसद र एकजना स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थिए।
त्यसपछि उनले नागरिक उन्मुक्तिका कैलाश चौधरीलाई भौतिक पूर्वाधार विकासमन्त्री र उन्मुक्तिकै टीका थापालाई भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री नियुक्त गरेका थिए। खासगरी एमालेले सोडारीलाई मुख्यमन्त्री बनाउन चाहेको थिएन। तर, अन्तिम समयमा गठबन्धनमै संकट आउने भएपछि एमालेले सोडारीलाई समर्थन गरेको थियो।
अहिले पनि एमालेले सरकारमा जाने नजाने विषयमा ठोस निर्णय नगर्दा समस्या भएको बताइन्छ।
दुई मन्त्रालय भागवण्डा भइसकेको अवस्थामा एमाले र माओवादी दुवैको चासो र दाबी प्रदेशको अर्थ मन्त्रालयमा छ। प्रदेशमा एमाले,माओवादीका समान ११÷११ सासंद छन्।
को-को छन् चर्चामा ?
एमाले माओवादीभित्र सबैजसो सांसद मन्त्रीको दौडमा छन्। मन्त्रीकै लागि प्रायजसो सांसद काठमाडौंमै केन्द्रित छन्। माओवादीबाट संसदीय दलका उपनेता अक्कल रावल, झपट साउद, ओमविक्रम भाट सरल र रमेश धामीको नाम चर्चामा छ। यस्तै एमालेमा सुरेन्द्र पाल, वीरबहादुर थापा, चक्र मल्ल र दमनबहादुर भण्डारीको नाम मन्त्रीका लागि चर्चामा छ।