काठमाडौंः बंगलादेशका सांसद अनवारुल अजिम अनारको हत्याका मुख्य आरोपी नेपालबाट पक्राउ परेपछि ढाका महानगरीय प्रहरीको जासूसी शाखा (डिबी)को टोली नेपाल आएको छ। काठमाडौंमा हत्याका आरोपी सियाम हुसेन पक्राउ परेको खबरपछि को ४ सदस्यीय डीबीको टिम शनिबार नै नेपाल आएको बुझिएको छ।
नेपाल आउनुअघि हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै डीबीका चिफ हारुनोर रशिदले अन्य आरोपी पनि नेपालमै लुकेको हुनसक्ने आशंका भएपछि अनुसन्धान गर्न टोली जान लागेको बताएका थिए।
उनले नेपालको रुट प्रयोग गरेर आरोपीहरु अन्य देश भाग्न सक्ने आशंका व्यक्त गरेका थिए। उपचारका लागि मे १२ मा भारत पुगेका सांसद अनार भोलिपल्टदेखि नै सम्पर्कविहीन बनेका थिए। मे २२ मा बंगलादेश सरकारले उनको मृत्युको पुष्टि गरेको थियो। उनी कोलकातामा मृत फेला परेका थिए। उनको शव टुक्रा टुक्रा गरेर तालमा फालिएको अनुसन्धानमा खुलेको थियो।