धनगढी : सुदूरपश्चिम प्रदेश सरकार नयाँ आर्थिक वर्षको बजेट ल्याउने तयारीमा छ।सङ्घीय सरकारले जेठ १५ मा आगामी आर्थिक वर्षको बजेट ल्याएकोमा संवैधानिक व्यवस्थाअनुसार प्रदेश सरकारले असार १ गते बजेट ल्याउने गरेका छन्। सोही अनुसार सुदूरपश्चिम सरकारले पनि बजेटको तयारी तीव्र पारेको छ। सुदूरपश्चिम सरकारमा हाल अर्थमन्त्री नभएको र सो मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले नै सम्हालिरहेका बेला बजेट ल्याउन लागिएको हो।
सरकार विस्तारमा ढिलाई हुँदै गएकाले मुख्यमन्त्रीले नै बजेट ल्याउने सम्भावना बढेर गएको छ। तथापी केही दिनमै सरकार विस्तार हुनसक्ने पनि बताइएको छ।
विगतका वर्षजस्तै यसपाली पनि बजेटको चटारोमा धनगढीका होटलहरु खचाखच भरिएका छन्। प्रदेश सरकारले ल्याउन लागेको बजेटमा आफ्ना योजना पार्न पहाडी जिल्लाहरुसँगै कैलाली र कञ्चनपुरका पालिका प्रमुखहरु, बिचौलिया र पूर्व जनप्रतिनिधिहरु धनगढी पसेपछि होटेल खचाखच भएका हुन्।
केही प्रदेश सभाका माननीयहरु पनि विचौलियाको चङ्गुलमा फसेको बताइएको छ। बिचौलियाहरुले प्रदेश सभा सदस्यको लेटरप्याडमा नै आफ्ना योजनाहरुको सिफारिस गरिरहेको बताइएको हो।
मुख्यमन्त्री सोडारी परिवारका मान्छे र निकटस्थ व्यक्तिहरुले पनि योजना किनबेचको कार्य गर्ने गराउने गरेको आरोप लागेको छ।
नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टीको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका नेकपा एकीकृत समाजवादी पार्टीका संसदीय दलका नेता सोडारीले डेढ महिना बित्दा पनि सरकार विस्तार गर्न सकेका छैनन।
हालसम्म एमाले र माओवादी सरकारमा सहभागी भएको छैन। प्रदेश सरकारमा मुख्यमन्त्री सोडारीसहित नागरिक उन्मुक्ति पार्टीका तर्फबाट दुई जना मन्त्रीसमेत गरी तीन जनामात्र सहभागी छन्।
उसो त प्रदेश सरकारको बजेट निर्माणको काम नै होटेलमा चलिरहेको बताइएको बेला कमिसन दिएर योजना हात पार्ने समूहहरू पनि उत्तिकै सक्रिय भएको दाबी गरिएको छ।
स्रोतका अनुसार प्रदेश सरकारबाट योजना पार्न स्थानीय तहका जनप्रतिनिधि लगायत बिचौलियाहरुले अग्रिम कमिसनका रूपमा कुल बजेटको १० देखि ३० प्रतिशतसम्म कमिसन बुझाउने गरेको बताइन्छ।