काठमाडौं : भारतको लोकसभा निर्वाचनमा भाजपाको चर्चित भनाइ थियो जो रामको लाए है, उसको हम लाएंगे । अर्थात् जसले राम मन्दिर पुननिर्माण गरेर राम ल्याए, उसलाई हामी (जनता)ले जिताउँछौं ।
चुनावको मुखैमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले राम मन्दिरको प्राण प्रतिष्ठान गरेका थिए । यसले विपक्षी पार्टीहरूलाई निकै संकटमा परेको थियो ।
मुस्लिम शासकको पालामा १६ औं शताब्दीमा ध्वस्त पारिएको राम मन्दिरलाई सोही ठाउँमा पुनस्स्थापित गर्न भारतमा लाखौंको ज्यान गएको थियो । राम मन्दिरको एजेण्डा लिएरै भाजपाले चुनाव जितेको थियो ।
भारतको लोकसभामा सबैभन्दा धेरै ८० सीट बोकेको उत्तर प्रदेशलाई भाजपाले आफ्नो दुई तिहाई बहुमतको मुख्य आधार बनाएको थियो यसपटक । किनकी यहाँ उसले रामलाई फर्काएको थियो ।
तर, मतगणनाको शुरूदेखि नै उत्तर प्रदेशले मोदी र योगलाई रातो झण्डा देखायो । यसअघि मोदीलाई २ पटक प्रधानमन्त्री बनाउन ८० मध्ये ७० भन्दा माथिको योगदान गरेको उत्तर प्रदेशले यसपटक राम मन्दिर बनाएपछि भाजपालाई आश्रय समेत दिएन ।
गठबन्धनको बलमा मोदी तेस्रोपटक प्रधानमन्त्री बने पनि उत्तर प्रदेशबाट भने उनले विगतमा पाएको भन्दा आधा सीट पनि पाएनन् । यो आफैंमा हिन्दूवादी भाजपालाई ठूलो झड्का हो ।
यतिसम्मकी भगवान श्रीरामको जन्मस्थल अयोध्यामै भाजपा उम्मेदवार पछि परेका छन् । अयोध्या समेटिएको फैजावाद निर्वाचन क्षेत्रमा भाजपाका उम्मेदवार लल्लु सिंह समाजवादीका अवधेश प्रसादभन्दा धेरै मतले पछि परेका छन् ।
दुईपटकसम्म प्रचण्ड बहुमतले उत्तर प्रदेशमा चुनाव जितेर मुख्यमन्त्री बनेका योगी आदित्यनाथलाई मोदीपछि भाजपाको उत्तराधिकारी र भारतको भावी प्रधानमन्त्रीका रूपमा हेरिएको थियो । राम मन्दिरको जससमेत मिल्ने अनुमानविपरीत भाजपाको लज्जास्पद प्रदर्शनले योगीको राजनीतिक भविष्यमा पनि प्रश्न उठाएको छ ।
कांग्रेस नेता राहुल गान्धी र समाजवादीका अध्यक्ष अखिलेश यादवको जोडीलाई उत्तर प्रदेशका हिन्दू र मुस्लिम दुवै समुदायले अनुमोदन गरेका छन् । मुस्लिम जनसंख्या धेरै रहेका सबै क्षेत्रमा समाजवादी र कांग्रेसले ५० हजार भन्दा माथिको अग्रता लिएका छन् भने हिन्दु वहुल क्षेत्रमा पनि भाजपाको अपेक्षित प्रदर्शन देखिएको छैन ।
उत्तर प्रदेशको नतिजाबाट भाजपा नेताहरू समेत निराश बनेका छन् । उनीहरूले विपक्षले हिन्दू मुस्लिमको नारा लगाएर मुसलमानको सबै भोट हडपेको र हिन्दूभित्र पनि जातीको नारा लगाएर भोट बाँडिएको आरोप लगाएका छन् ।
खासमा योगीको बुल्डोजर शासनमा उत्तर प्रदेशका मुसलमानले धेरै असुरक्षा भोगेका थिए । मुसलमान र विपक्षीका घरमा बुल्डोजर चलाइएको थियो भने मुस्लिम नेताहरू प्रहरीकै निगरानीमा अदालत बाहिर मारिएका घटनाले अल्पसंख्यकमा भाजपाप्रति ठूलो त्रास थियो । हिन्दू मतदाता पनि विभाजित भएपछि भाजपा कमजोर बनेको हो ।