धनगढी: सुदूरपश्चिमका सभामुखको कार्यकक्षमै लफडा भएको विषय सार्वजनिक भएको छ। हिजो (मंगलबार) सभामुख भीम भण्डारीको कार्यकक्षमै लफडा भएको हो।
लफडा यतिसम्मकी त्यहाँ प्रदेश सभाका मर्यादापालक प्रहरी नै आउनुपरेको बताइएको छ। नेकपा एमालेका प्रदेश सभा संसदीय दलका नेता राजेन्द्र रावल र नेकपा माओवादी केन्द्रका माननीय एवं दलका नेता मानबहादुर धामीको आपसमा लफडा परेको स्रोत बताउँछ।
स्रोतका अनुसार प्रदेशसभामा ठूलो दलको हैसियतका विषयमा विवाद भएपछि लफडा भएको हो। प्रदेशसभामा धन्यवाद प्रस्ताव प्रस्तुत गर्नका लागि प्रस्तावक र समर्थक बस्ने, बसाल्ने विषयमा विवाद भएपछि लफडा निम्तिएको थियो। त्यसपछि माननीयहरु उग्र हुने देखिएकाले मर्यादापालक गएर स्थिति सामान्य बनाइएको थियो।
स्रोतको भनाईअनुसार स्थिति कार्यकक्षमै कुटाकुटसम्मै पुग्ने खालको थियो। सुदूरपश्चिम प्रदेश सभामा सभामुखसहित ११ माओवादी र नेकपा एमालेका ११ प्रदेश सभा सदस्य (माननीय) हरु छन्।
नेकपा माओवादी केन्द्रका एक प्रदेश सभा सदस्यका अनुसार एमालेका दल नेता रावलले पूर्व निर्णय भएको विषयमा झमेला निकालेपछि सामान्य विवाद भएको बताए। यस्तै उता सभामुख भण्डारीले पनि सामान्य छलफलका क्रममा विवाद भएको बताउँदै लफडा भने नभएको दाबी गरे।
उनले पहिले नै कार्यव्यवस्था समितिमा मौखिक समझदारीमा निर्णय भैसकेको विषयमा छलफल गर्दा विवाद भएको जनाए।