धनगढी : सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई भेटेर उनका कार्यकर्ताले योजनाको लिष्ट नै बुझाएका छन्। सुदूरपश्चिमको बजेटमा बिचौलियाको जालो रहेको कुरा चर्चा चलेकै बेला मुख्यमन्त्रीका पार्टीका कार्यकर्ता पनि बजेट हत्याउन सक्रिय बनेका हुन्।
उनीहरूले मुख्यमन्त्री कार्यालयमै पुगेर योजनाको लिष्ट बुझाएको जानकारी दिएका छन्। बुधबार फाइलै बोकेर मुख्यमन्त्री कार्यालय पुगेका केही युवाहरूले समाजवादीको तर्फबाट योजनाहरु बुझाएको भन्दै सामाजिक सञ्जालमै सार्वजनिक गरेका छन्।
उनीहरू मुख्यमन्त्री सोडारीका निकटस्थ रहेको र उनीहरूले पनि योजना किनबेचमा भूमिका खेल्ने गरेको आरोप छ।
यसरी लिष्ट बुझाउनेमा (एकीकृत समाजवादी) गाैरीगंगा नगरपालिका कमिटीका नेताहरु छन्। सो क्षेत्र मुख्यमन्त्री सोडारीको निर्वाचन क्षेत्र पनि हो।
उनै मुख्यमन्त्रीका निर्वाचन क्षेत्रका कार्यकर्ताका तर्फबाट फाइलै तयार गरेर योजनाको लिष्ट बुझाइएको हो।
पार्टीको प्रतिनिधित्व गरेर मुख्यमन्त्री बनेपनि सरकारमा रहदासमेत पार्टी र कार्यकर्ताले बजेटमा समेत चासो राख्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ। अहिले सो विषयलाई लिएर मुख्यमन्त्रीको आलोचना पनि भैरहेको छ।
सुदूरपश्चिममा विगतदेखि नै प्रदेश सरकारका योजनाहरु किनबेच हुने र झ्यालबाट आउने चर्चा हुन्छ। विगतका वर्षजस्तै यस वर्ष पनि बिचौलियाहरु निकै सक्रिय भएको बताइन्छ।