धनगढी: बैतडीमा नेपाली काँग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संगठनका दुई अध्यक्ष तोकिएको पाइएको छ। हिजो (मंगलबार) नै जिल्लामा २ अध्यक्ष तोकिएको पाइएको हो।
यसरी अध्यक्ष तोकिनेमा विरेन्द्र कुमार साउद र दिपेन्द्र बहादुर ढुङ्गाल रहेका छन्। उनीहरू दुबै जनालाई नेविसंघको केन्द्रिय कार्यालयको लेटरप्याडमा छापसमेत ठोकिएको पत्रले जिम्मेवारी तोकिएको भन्दै जानकारी दिएको छ। तर उनीहरूमध्ये दिपेन्द्रलाई हालका नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले बैतडीको नेविसंघ जिल्ला अध्यक्ष तोकेका छन् भने अर्का विरेन्द्रलाई कपिल केसीसहितले हस्ताक्षर गर्दै अध्यक्षको जिम्मेवारी दिएका छन्।
अध्यक्ष शेर्पाले आधिकारिक रुपमा दिपेन्द्रलाई दिएको जिम्मेवारीको विरुद्धमा अर्को पक्षले विरेन्द्रलाई जिम्मेवारी दिइएको जनाएको छ। अधिवेशनकै मुखमा नेविसंघ बैतडीमा यस्तो रडाको मच्चिएको हो।