जनकपुरः मधेश प्रदेशको मुख्यमन्त्रीमा जनमत पार्टीका सांसद सतिशकुमार सिंहले दाबी पेश गरेका छन्। शुक्रबार बिहान मधेश प्रदेशसभामा प्रतिनिधित्व गर्ने जनमत पार्टीसहित ६ राजनीतिक दलले सिंहलाई मुख्यमन्त्रीमा नियुक्तिका लागि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसमक्ष दाबी पेस गरेका हुन्।
१०७ सदस्य रहेको मधेश प्रदेशसभामा सरकार बनाउन ५४ सदस्यको समर्थन आवश्यक पर्छ। प्रदेश प्रमुख भण्डारीसमक्ष पेस गरिएको दाबीमा सिंहलाई ५५ सांसदको समरथन रहेको जनाइएको छ। सिंहलाई एमालेका २४, जनमतका १३, माओवादी केन्द्रका ९, नेकपा एकीकृत समाजवादीका ७, नागरिक उन्मुक्ति पार्टीका १ र नेपाल संघीय समाजवादी पार्टीका १ सांसदको समर्थन रहेको छ।
प्रदेशप्रमुख भण्डारीले शुक्रबार विहान १० बजेसम्म संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्रीमा दाबी गर्न आह्वान गरेकी थिइन्।
मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार प्रदेशसभामा विश्वासको मत नपाउँदा सरकार ढलेको थियो।