धनगढी : कञ्चनपुरमा कारगारका कैदी र एक प्रहरी र कर्मचारी होटलमा मदिरा सेवन गरिरहेको अवस्थामा फेला परेको घटनामा प्रहरी कारबाहीमा परेका छन्। सुदूरपश्चिम प्रदेश प्रहरीका प्रमुख डीआइजी रविन्द्र केसीले प्रहरीले व्यवसायिक अनुशासन कायम नराखेको र गम्भीर त्रुटि गरेको भन्दै कारबाही गर्न निर्देशन दिएका हुन्।
डीआइजी केसीको निर्देशनमा कैदीसँग भेटिएका हवल्दार रामसिंह धामीलाई निलम्बन गरिने भएको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी चक्रराज जोशीले हवल्दार धामीलाई गैरजिम्मेवार र गैरव्यवसायिक काम गरेको भन्दै ६ महिना निलम्बन गरिएको जानकारी दिए।
उनका अनुसार घटनाको विस्तृत छानबिनसमेत भैरहेको छ।
हिजो (बिहीबार) मात्रै कैदी ज्ञानबहादुर चन्द, कैदीका नाइके भुवन थापा, प्रहरी हवल्दार धामी र कारागारका खरिदार जीवन पन्त मदिरा सेवन गरिरहेको अवस्थामा महेन्द्रनगर बजारमा फेला परेका थिए।
उनीहरू हिजो होटलमा भेटिएका थिए। नाइकेसहित प्रहरी र कर्मचारी जेलबाहिर बजारमा निस्केर मदिरा सेवन गरेको विषय अहिले अनुसन्धान भैरहेको कारागार र प्रहरीले बताएको छ।
र यो पनि !
कञ्चनपुरमा कैदी र पुलिसको मस्ती, खुलेआम होटेलमा मदिराको चुस्की