धनगढीः दाङको तुलसीपुरमा नेपाली सेनाका जवान शालिकराम बुढाथोकीले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन्। कपुरकोट ६ सल्यान घर भई नेपाली सेनाको ज्वालदल गण बारामा कार्यरत अमल्दार बुढाथोकीले तुलसीपुर ६ डुम्रीगाउँमा बस्दै आएकी श्रीमती टिका बुढाथोकीको हत्या गरेको प्रहरीले जनाएको छ।
शान्तिसेनाबाट फर्किएर घर बिदामा आएका बुढाथोकीले श्रीमतीलाई बिहान परपुरुषसँग आपत्तिजनक अवस्थामा भेटाएपछि खुकुरी प्रहार गरि हत्या गरेको प्रहरीले जनाएको छ। खुकुरी प्रहारबाट घाइते भएकी टिकाको राप्ती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
शालिकरामले श्रीमतीका साथमा फेला परेका नेपाली सेनाका जवान आर्यन थापालाई समेत खुकुरी प्रहार गरेका छन्। थापाको गर्धन र टाउकोमा गम्भीर चोट लागेको छ। उनको अवस्था पनि गम्भीर भएको प्रहरीले जनाएको छ।
खुकुरी प्रहार गर्ने शालिकराम इप्रका तुलसीपुरको नियन्त्रणमा छन्।