काठमाडौं: कञ्चनपुरको महेन्द्रनगर पुर्ख्यौली घर भएर ललितपुर बस्दै आएका सुशील चटौट जेलमुक्त भएका छन्। बलात्कार आरोपमा १४ महिनाअघि जिल्ला अदालतबाट दोषी ठहर भएर जेल गएका चटौत रिहा भएका हुन्।
चटौतलाई उच्च अदालत पाटनले यहीँ जेठ १ मा सफाई दिने फैसला गरेपछि उनी जेलमुक्त भएका हुन्।
त्यस अगाडि जिल्ला अदालत ललितपुरले बलात्कारको अभियोगमा चटौतलाई १८ वर्ष एक महिना जेल सजाय तोकेको थियो।
आफ्नै घरमा घरायसी काम गर्ने १४ वर्षीया नाबालिगलाई बलात्कार गरेको खुलेपछि उनलाई जिल्ला अदालत ललितपुरले सजाय तोकेको थियो।
१५ चैत २०७९ चैतमा जिल्ला अदालत ललितपुरले उनलाई १८ वर्ष एक महिना जेल सजाय र पीडित नाबालिगलाई आठ लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो। त्यसपछि जिल्लाको फैसलाविरुद्ध चटौतका परिवार उच्च अदालत पाटन पुगेका थिए।
त्यसपछि जेठ १ मा उनलाई उच्चका न्यायाधीशद्वय मुनेन्द्रप्रसाद अवस्थी र हेमन्त रावलको इजलासले सफाई दिने आदेश गरेको हो।
सो आदेशसँगै नख्खु कारागार बसेका चटौत जेलमुक्त भएको बताइन्छ।
ललितपुरको इमाडोल बस्दै आएका चटौत परिवारले घरायसी काम गराउने र स्कुल पनि पठाउने भन्दै बझाङको एक गाउँबाट ती १० वर्षीया नाबालिगलाई ल्याएको थियो।
तर, चटौतले घरमा एक्लै रहेका बेला आफूलाई बलात्कार गर्दै आएको भन्दै ती नाबालिगले प्रहरीमा उजुरी दिएपछि उनी पक्राउ परेका थिए।