बझाङ : बझाङको केदारस्युँ र थलारा गाउँपालिकामा प्रतिबद्ध तीन परियोजना सुरु भएको छ । सोमबार जिल्ला प्रशासन कार्यालयमा एक औपचारिक कार्यक्रमका बिच परियोजनाको शुभारम्भ गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी ओमप्रसाद भट्टराईको अध्यक्षतामा सञ्चालन भएको परियोजनाको शुभारम्भ बैठ्कमा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुख तथा प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा जिल्लामा भइरहेका प्रमुख विपद् घटनाहरू, स्थानहरू, र जोखिम न्यूनिकरणका उपायबारे छलफल भएको थियो। प्रमुख जिल्ला अधिकारी भट्टराईले थलारा गाउँपालिका र केदारस्युँ गाउँपालिकामा सञ्चालित परियोजनाले जिल्लाका १२ वटै पालिकाका लागि उदाहरणीय कार्य गर्ने अपेक्षा व्यक्त गरे।
साथै, पहिरो जोखिम नक्सांकनमा परियोजनाको सहयोगले जिल्लामा विपद् जोखिम न्यूनिकरणका प्रयासहरूलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरिएको छ।
जिल्लास्थित नेपाल प्रहरी प्रमुख युवराज भण्डारी, सशस्त्र प्रहरी प्रमुख दुर्गा प्रसाद भट्ट, र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गोविन्द प्रसाद पाण्डेसहितका सहभागीहरूले परियोजनाको प्रभावकारीता बढाउन सुझाव तथा योगदान गरेका थिए।
झण्डै २ बर्ष कार्यअवधी रहेको प्रतिबद्ध तीन परियोजनाले विपद् जोखीम न्युनिकरण, पुर्वतयारी तथा प्रतिकार्यमा काम गर्ने लक्ष्य लिएको छ । साथै पहिरो जोखिम नक्सांकन, जोखीम बस्तीहरुको पहिचान तथा वर्गीकरण, पुर्ननिर्माण तथा पुर्नस्थापनामा काम गर्ने सामुदायिक आत्मनिर्भर केन्द्रका कार्यकारी निर्देशक जगत देउजाले बताए ।
यस्तै पिनका कार्यक्रम प्रबन्धक शालिकराम घिमिरेले प्रतिबद्ध तीन परियोजनाको लक्ष्य तथा उद्देश्यमाथि प्रकाश पारेका थिए । उनले प्रस्तुतिकरणमा प्रतिबद्ध १ र २ मा हासिल गरेका उपलब्धी र प्रतिबद्ध ३ को नतिजाहरु प्रस्तुत गरेका थिए ।