काठमाडौं: सुनकाण्डमा जोडिएका एक प्रहरी निलम्बनमा परेका छन्। ३ किलो सुन तस्करी प्रकरणमा जोडिएपछि नेपाल प्रहरीका असई निलम्बित भएका हुन्।
नेपाल प्रहरीको विशेष ब्यूरोमा कार्यरत असई सविन तिवारी निलम्बनमा परेका हुन्। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी दानबहादुर कार्कीले छानबिनका लागि निलम्बन गरिएको बताए।
रसुवाको केरुङ नाकाबाट तस्करी भएर आएको ३ किलो सुन बाटोबाटै हराएपछि तस्कर समूहले भरियालाई अपहरण गरेको थियो। सुन गायब भएपछि तस्कर समूहले भरिया एवं गाडीका चालक रामकृष्ण वाइबालाई अपहरण गरी बुढानीलकण्ठ नगरपालिकामा रहेको शैलजा रिसोर्टमा लगेर बन्धक बनाएको थियो।
२४ साउनको यो घटनामा संलग्न भएको आरोपमा केही दिनअघि मात्रै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ४ जनालाई पक्राउ गरेको थियो।
रसुवाको गोसाइकुण्ड–१, थुमनका ३१ वर्षीय बुद्धिबहादुर तामाङ, ३८ वर्षीय नुर्पु सिंगी तामाङ, रसुवाको धुन्चेका ४४ वर्षीय टेम्पा नुर्पु तामाङ र रसुवाको कालिका–१, राम्चेका ४८ वर्षीय गोपाल तामाङ पक्राउ परेका छन्।
कन्टेनर चालक वाइबाले सुन आएको बारे जानकारी आफ्ना मामाका छोरा निमा छिरिङ तामाङलाई दिएका थिए। निमाले उक्त जानकारी असई तिवारीलाई दिएको खुलेको छ। त्यसपछि तिवारीले उक्त जानकारी राजश्व अनुसन्धान विभागमा कार्यरत सशस्त्रका डीएसपी सञ्जय अधिकारीलाई दिएको खुलेको छ।
तर उक्त सुन खानीखोला आइपुगेपछि लुटिएको थियो। खानीखोलामा हतियारसहितका अज्ञात व्यक्तिले चालकलाई धम्क्याउँदै सुन लुटेका थिए। नेपाल प्रहरीलाई खबर नगरी राजश्वको टोलीलाई खबर गरेको र यही बीचमा तस्कर समूहबीच कनेक्सन गरेर लुटपाटको भूमिका खेलेको हुनसक्ने आशंका असईमाथि छ।