काठमाडौँ : पार्टी राजनीतिमा सक्रिय हुने हल्लाबीच पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले चाँडै चीन भ्रमणमा जाने तयारी गरेकी छन्।
चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा भण्डारीले छोरी उषाकिरण भण्डारीलाई समेत लिएर चीन भ्रमण गर्न लागेकी हुन्। भण्डारीको भ्रमण एमाले अध्यक्ष केपी ओलीको पहल वा सहमतिमा आयोजना हुन लागेको हो।
एमालेको एउटा टोलीले चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागसँग समन्वयमा रहेर पूर्वराष्ट्रपति भण्डारीको चीन भ्रमणको तयारी गरिरहेको छ।
‘एक वर्ष अघिदेखि नै पूर्वराष्ट्रपति भण्डारीलाई चीनबाट भ्रमणको निम्तो आएको हो, बेलाबेलामा भेटघाट हुँदा मौखिक रुपमा पनि भ्रमण होस् भन्ने चाहना चिनियाँ पक्षबाट आएको थियो,’ भण्डारीको भ्रमणको तयारीमा संलग्न एक नेताले भने, ‘तीन महिना (संभवतः सेप्टेम्बर) भित्र भ्रमण गर्ने गरि तयारी चलिरहेको छ।’
दुई कार्यकाल राष्ट्रपति भएर फागुन २०७९ मा शीतलनिवासबाट बिदा भएको डेढ वर्षपछि हुने यो नै भण्डारीको पहिलो विदेश भ्रमण हुनेछ।