धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले मुख्यमन्त्री नियुक्त भएको ५२ दिनसम्म पनि सरकारलाई पूर्णता दिन सकेका छैनन् ।
वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त भएको सोडारीले सोही दिन नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीलाई भौतिक पूर्वाधार विकास मन्त्रालयमा र एक सातापछि नाउपाकै टीका थापालाई भूमि व्यवस्था कृषि तथा सहरकारी मन्त्रालयमा नियुक्त गरेका थिए । त्यसपछि मुख्यमन्त्री सोडारीले अहिलेसम्म अन्य कुनै पनि मन्त्रालयमा कुनै पनि सांसदलाई जिम्मेवारी दिएका छैनन् ।
केन्द्रका मन्त्रालयको भागबन्डा नहुँदा र एमालेले सरकारमा सहभागी नहुने नीति लिँदा मुख्यमन्त्री सोडारीलाई सरकार विस्तारमा सकस भएको हो ।
एमाले, माओवादी, नेकपा एकीकृत समाजवादी, नाउपा रन्जिता पक्ष र स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता सोडारीलाई ती सबैले विश्वासको मत दिएका थिए । तर, अहिले नाउपा रन्जिता पक्षका दुई सांसद बाहेक अन्य कोही पनि दलहरू सरकारमा सहभागी भएका छैनन् ।
अहिले पनि एमाले सरकारमा सहभागी नहुने बताइरहेको छ । एमाले सरकारमा सहभागी नहुने भएपछि मुख्यमन्त्री सोडारीले माओवादी र स्वतन्त्र सांसदलाई लिएर सरकार विस्तार गर्ने विषयमा तयारी थालेका छन् ।
शुक्रवार मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा सत्ता गठबन्धनको बैठकमा पनि मुख्यमन्त्री सोडारीले सरकारलाई पूर्णता दिन आग्रह गरेका थिए । तर, एमालेले त्यहाँ पनि तत्काल सरकारमा सहभागी हुने अवस्था नरहेको बतायो ।
एमाले सांसद धर्म पाठकले पनि अहिलेसम्म पार्टी सरकारमा सहभागी हुने बारे कुनै निर्णय नगरेको बताउँछन् ।
एमालेले तत्काल सरकारमा सहभागी नहुने बताएपछि माओवादी र स्वतन्त्र सांसदलाई सरकारमा सहभागी बनाउने विषयमा पछि छलफल भइरहेको छ ।
मुख्यमन्त्री कार्यालयको बैठकमा सहभागी माओवादी सांसद शिवसिंह ओलीले आफ्नो पार्टीबाट मन्त्री हुनेहरुको नाम नआएको कारण पार्टी सरकारमा सहभागी नभएको बताए ।
उनका अनुसार मन्त्री हुनेहरुको नाम केन्द्रले आज पठाउन सक्ने र त्यस लगत्तै मुख्यमन्त्रीले माओवादीलाई मात्रै पनि सरकारमा सहभागी गराउन सक्ने सम्भावना रहेको उनी बताउँछन् ।
मुख्यमन्त्री सोडारीले माओवादी र स्वतन्त्रलाई भएपनि सरकारमा ल्याउन प्रसार गरिरहेका बेला स्वतन्त्र सांसद तारा जोशीले भने अहिले नै आफूले मन्त्री भइहाल्ने विषयमा कुनै निर्णय नगरेको बताउँछन् । केन्द्रमा सत्ता गठबन्धनबीच मन्त्रालयको भागबन्डा टुङ्गो नलाग्दा पनि प्रदेश सरकार विस्तारमा ढिलाइ भएको हो ।
‘कुन मन्त्रालय कुन पार्टीलाई पर्ने हो त्यो टुङ्गो लागेको छैन त्यो टुङ्गिएको भए सरकारमा सहभागी हुने दलहरूबाट मुख्यमन्त्रीले मन्त्री नियुक्त गर्नुहुने थियो ’ मुख्यमन्त्री निकट स्रोतले भन्यो, ‘हिजो पनि त्यहि विषयमा छलफल भएको हो । ’
मुख्यमन्त्री कार्यालयमा भएको छलफलमा माओवादीले तत्काल आर्थिक मामिला मन्त्रालय आफ्नो पार्टीलाई दिन आग्रह गरेको थियो । पछि उक्त मन्त्रालय माओवादीकै भागमा परे मन्त्रीले निरन्तरता पाउने एमालेको भागमा परे उक्त मन्त्रीलाई कहाँ लैजाने उक्त निर्णय सोही पार्टीले गर्ने सम्मको छलफल भएको थियो ।
तर, मुख्यमन्त्री सोडारीले सत्ता गठबन्धनका नेताहरूलाई पार्टी केन्द्रसँग समन्वय गरेर सरकारमा सहभागी हुनेको नाम दिन आग्रह गरेका थिए ।