धनगढी : सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत शाखा अधिकृत लक्ष्मण शाहविरुद्ध विशेष अदालत, काठमाडौँमा मुद्दा दर्ता भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध मंगलबार भ्रष्टाचार मुद्दा दायर गरेको हो।
शैक्षिक योग्यताको झुट्टा प्रमाणपत्र पेस गरी सेवा प्रवेश गरेको आरोपमा मुद्दा दर्ता गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।
घिमिरेका अुनसार, शाहको शैक्षिक योग्यताको प्रमाणपत्र छानबिन हुन भन्ने उजुरी निवेदनका आधारमा अनुसन्धान हुँदा माध्यमिक शिक्षा परिषद् र बोर्ड अफ हाइस्कूल एण्ड इन्टरमिडियट एजुकेशन, यूपीबाट उत्तीर्ण भएको भनी झुटा शैक्षिक प्रमाण पेस गरेको पुष्टि भएको छ।
सोही अनुसार उनीमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदाफा (१) बमोजिमको सजाय सुनाउन माग गर्दै विशेष अदालतमा आरोप पत्र दायर गरिएको हो।